अफगानिस्तानमा आफ्ना सन्की सैनिकले १६ जना सर्वसाधारणको हत्या गरेपछि अमेरिकी राष्ट्रपति ओबामाद्धारा घटनाप्रति माफी माग्दै दुःख व्यक्त

अफगानिस्तानमा आफ्ना सन्की सैनिकले १६ जना सर्वसाधारणको हत्या गरेपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाप्रति माफी माग्दै दुःख व्यक्त गर्नुभएको छ । अफगानी राष्ट्रपति हमिद कारजाईलाई टेलिफोन गरी ओबामाले मारिएका परिवाजनप्रति आफ्नो समवेदना रहेको सुनाउनुभयो । ओबामाले निन्दनीय यस घटनामा जोसुकैको संलग्नता रहेपनि कार्वाही गरिने प्रतिवद्धता जनाउनुभएको छ । कारजाईले भने घटनाको निन्दा गर्दै अमेरिकासँग जवाफ माग्नुभएको छ ।

यसअघि हिजो कान्दहारस्थित तीन सर्वसाधारणको घरमा प्रवेश गरी एक अमेरिकी सैनिकले नौ जना बालबालिकासहित १६ जनाको हत्या गरेका थिए । घटनामा ५ जना घाइते छन् । उनले विहान सबेरै सैन्य इलाका छोडी ती घरमा गोली चलाएका थिए । ज्यान गुमाउनेमा महिला र बालबालिका बढी परेका हुन् । अफगानिस्तानमा कार्यरत गठबन्धन फौज नेटोले यस खेदजनक घटनाको छानबिन गरिरहेको उल्लेख गरेको छ । घटना गराउने सैनिकको नाम खुलाइएको छैन । तर उनी स्टाफ सर्जन्ट भएको अनुमान गरिएको छ । सैन्य इलाकाबाट स्थानीय समयअनुसार विहान तीन बजे बाहिरिएर उनी नजिकैको गाउँ गएका थिए । स्थानीय बासिन्दाले पन्ज्वाइ जिल्लाको नेटो इलाका नजिकै भेला भएर घटनाविरुद्ध प्रदर्शन गरेका छन् ।


गत महिना अमेरिकी सैनिकले इस्लाम धार्मिक ग्रन्थ करान जलाएयता त्यहाँ अमेरिका विरोधी मानसिकता बढ्दै गएको थियो । राजधानी काबुलस्थित नेटो इलाकामा भएको उक्त घटनाको अमेरिकी अधिकारीहरुले पटकपटक क्षमायाचना गरेका थिए । तर उनीहरुले यसविरुद्ध भएका प्रदर्शन भने रोक्न सकेनन् र त्यस क्रममा ३० सर्वसाधारण र ६ अमेरिकी सैनिक मारिइसकेका छन् ।