नुवाकोट जिल्लाको काहुले गाविसको दावाचेतमा गएराति आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षिया चिली तामाङ छन् । घरमा बालेको मैनबत्तीका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । साथै चिलीका पिता मंगले तामाङ गम्भिर घाइते भएका छन् । आगलागीमा परी घरका सम्पूर्ण सामग्री, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ ।
उता, पाँचथर र तेह्रथुमको विभिन्न सामुदायिक वनमा सल्किएको वन डढेलो पाँच दिन वित्नसमेत नियन्त्रणमा आउन सकेको छैन । आगलागीवाट अहिलेसम्म झण्डै पचास लाख वढीका काठपात, घर, गोठ, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पाँचथरको रानीगाउँ एकस्थित तिल्केनी वनमा हिजो शुरु भएको आगोले अहिलेसम्म ५ वटा घर जलेको छ । त्यस क्षेत्रमा अहिलेपनि हावाहुरी चलेकाले आगो नियन्त्रणमा आउन सकेको छैन । तेह्रथुमको हमरजुङ, र पन्चकन्या गाविसमा पनि पाँच दिन अघिबाट शुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । त्यस क्षेत्रमा अहिलेसम्म ४ वटा घर जलेका छन् भने दर्जनौ घर जोखिममा परेका छन् । घटनास्थलमा प्रहरी र स्थानियवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।