मध्य अमेरिकी मुलुक ग्वाटेमालाको नरसंहारमा दोषी ठहर सैनिक जवानलाई ६ हजार ६० वर्षको जेल सजाय

मध्य अमेरिकी मुलुक ग्वाटेमालाको एक अदालतले सन् असीको दशकमा मच्चिएको गृह युद्धकालमा भएको नरसंहारमा दोषी ठहर गर्दै सैनिक जवान पेड्रो पिमेन्टेललाई ६ हजार ६० वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि गृहयुद्धका क्रममा २ सय १ जनाको हत्यामा जिम्मेवार रहेको आरोप लागेको थियो ।

 

५५ वर्षिय पिमेन्टेलले भने आरोप अस्वीकार गर्दै आएका छन् । गत वर्ष अमेरिकाबाट प्रत्यापर्ण गरिएका ५५ पिमेन्टेल विरुद्ध मावनता विरोधी अपराधमा मुद्धा चलिरहेको थियो ।

 

ग्वाटेमालाको दोस इरिस् गाउंमा सन् १९८२ मा भएको नरसंहारमा दोषी प्रमाणित भएर यति लामो सजाय पाउने पिमेन्टेल पाँचौं सैनिक हुन् । ग्वाटेमालामा ३६ वर्ष लामो गृहयुद्धका क्रममा भएको उक्त नरसंहारलाई अत्यन्तै विभत्स मानिन्छ ।

 

ग्वाटेमालाको सेनाको विशेष युनिटले विद्रोहीलाई सहयोग गरेको भन्दै पूरै गाउंलाई घेरा हाली तिन दिन सम्म नरसंहार मच्चाएका थिए । सन् १९९६ मा अन्त्य भएको गृहयुद्धमा करिब २ लाख मानिस मारिएका थिए ।