अन्तर्राष्ट्रिय फौजदारी अदालतद्धारा कंगोका नेता थोमस लुवंगालाई युद्ध अपराधी ठहर

अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले स्थापनाको दस वर्षपछि हिजो पहिलो फैसला सुनाउँदै कंगोका नेता थोमस लुवंगालाई युद्ध अपराधी ठहर गरेको छ ।

 

लुवंगाले सन् २००२ देखि २००३ सम्म १५ वर्ष मुनिका बालबालिकालाई युद्धमा सैनिकका रुपमा प्रयोग गरेको ठहर आइसीसीले गरेको हो । अर्को सुनुवाईले उनलाई सजायँ तोक्नेछ । उनले प्रजातान्त्रिक गणतन्त्र कंगोको उत्तर पूर्वी भागमा भएको जातीय द्वन्द्वमा विद्रोहीको नेतृत्व गरेका थिए । बालबालिकालाई सुरक्षागार्ड, यौनदास र लडाकु बनाएको सुनुवाईका क्रममा बताइएको छ ।

 

तीन जना न्यायाधीशले सर्वसम्मत निर्णय गर्दै युनियन अफ कंगोलिज प्याट्रोइट्स युपिसी र यसको सशस्त्र दस्ताको प्रमुखका रुपमा १५ वर्ष मुनिका बाल सैनिक भर्ना गरी अग्र भागमा काम लगाउनमा लुवंगा पूर्ण रुपमा जिम्मेवार रहेको प्रमाणहरुले ठहर गरेको फैसला सुनाएका छन् ।

 

२००५ मा पक्राउ परेका लुवंगाले सुनुवाइमाथि पुनरावेदन गर्न भने पाउनेछन् । उनले जन्मकैद सम्मको सजाय पाउन सक्नेछन् । आइसीसीले मृत्युदण्ड सुनाउन सक्दैन । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार कंगोको इटुरीमा हेमा र लेन्डु जातीमा समूहबीच भएको द्वन्द्वमा ६० हजारभन्दा बढी मारिएका थिए । इजलासको अध्यक्षता गरेका न्यायाधीश अड्रिअन फुलफोर्डले तीस मिनेट लगाएर फैसला सुनाएका थिए ।

 

उक्त जातीय द्वन्द्वमा संलग्न अरु तीन जनालाई पनि युद्ध अपराध सम्बन्धी मुद्दा चलाइएको छ । एम्नेस्टी इन्टरनेसनलले आइसीसीले सर्वाधिक कुख्यात अपराधीलाई पनि कठघरामा ल्याउन सक्ने फैसलाले देखाएको जनाएको छ ।