गाउँमा सहमति नभएपछि पीडित बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन् । बाफी गाउँस्थित भागेश्वर प्राविमा ५ कक्षामा पढ्ने १३ वर्षीय गणेश साउद र केशबहादुर साउदले बलात्कार गरेका हुन् । बुधबार बेलुकी जिल्ला अस्पतालका डा. सुदीप श्रेष्ठले शारीरिक जाँच गरेर बालिकाको बलात्कार भएको पुष्टि गरे । आरोपी बालकहरूलाई जिल्ला प्रहरीले आवश्यक कारबाहीका लागि बिहीबार अदालतमा मुद्दा दर्ता गरेको छ । अदालतले घटनाको अनुसन्धानका लागि १० दिनको समयावधि जिल्ला प्रहरी कार्यालयलाई थपेको छ ।
जिल्ला अस्पताल डोटीका डा. श्रेष्ठको मेडिकल रिपोर्टलाई उद्धृत गर्दै पीडित बालिकालाई बलात्कार गरिएको प्रमाण फेला परेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले बताए । बालिकाको शारीरिक तथा मानसिक स्थिति सामान्य छ । पीडक दुवै जना बालक रहेकाले थुनामा नराखी जिल्ला प्रहरी कार्यालयको परिसरभित्रै निगरानीमा राखेर अनुसन्धान थाल्ने बोहराको भनाइ छ ।
बालकहरूबाटै बालिका बलात्कृत भएको यो घटनाले जिल्लामा चर्चा पाएको छ । ‘केटाहरू त्यस्ता स्वभावका लाग्दैन थिए,’ भागेश्वर प्राविका शिक्षक कर्णबहादुर चन्दले भने, ‘घटना सुन्दा हामी नै आश्चर्यमा छौं ।’ बलात्कारपछि रगताम्य भएकी बालिका रुँदै घर आएकी थिइन् । ‘छोरीको अवस्था देखेर चिन्तामा पर्यौं,’ पीडित बालिकाकी आमाले रुँदै भनिन्, ‘छोरीलाई सामान किन्न पसलमा पठाएका थियौं, एकैछिन पछि त्यस्तो देख्नुपर्यो ।’ पीडकहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै बालिकाका आमाबुवाले प्रहरी कार्यालयमा दबाब दिएका छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय प्रमुख डीआइजी विश्वराज सिंह शाहीले अशिक्षा, गरिबी तथा बेरोजगारीका कारण यौनका मामिलामा विकृति बढ्दै गएको टिप्पणी गरे । उनले पछिल्लो समय सुदूरपश्चिममा समेत यौन अपराधको जालो फैलिँदै गएको बताए ।
पीडक गणेश र केशबहादुरलाई बुधबारबाट प्रहरीले कार्यालयभित्रै निगरानीमा राखेको छ । दुवै जनाले पशु बाँध्ने गोठमा गएर बलात्कार गरेको प्रहरीलाई बयान दिएका छन् ।