मेक्सिकोको दक्षिणी भागमा आएको शक्तिशाली भुकम्पले ८ सय भन्दा बढी घर भत्काइदिंदा हजारौं जनता घरबार विहिन भएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ७ दशमलब ४ रेक्टर स्केलको भुकम्पले राजधानी मेक्सिको सिटिमा समेत शक्तिशाली कम्पन उत्पन्न गरेको थियो ।
मेक्सिकोको इगुलापा शहर आसपास धेरै संख्यामा घरहरु भत्केपनि मानिसहरुको मृत्यु भएको छैन । शक्तिशाली भुकम्प गएको १ घण्टा पछि मेक्सिकनहरुले भुकम्पको अर्को धक्का महसुस गरेका थिए । भुकम्पको बेला शहरमा भागदौड मच्चिएको थियो ।
मेक्सिकोमा बारम्बार भुकम्पहरु गइरहने हुँदा त्यहाँका जनता यस प्रति सचेत रहेको र धेरै भौतिक संरचनाहरु भुकम्प प्रतिरोधि बनाइएकाले क्षति कम भएको अधिकारीहरुले बताएका छन् । सन् १९८५ मा गएको विनाशकारी भुकम्पले झन्दै १० हजार मेक्सिकनहरुको ज्यान लिएको थियो ।