पूर्व प्रधानमन्त्री माधवकुमार नेपालद्धारा नागरिकता प्राप्ति सहज पार्न स्वदेशमै विवाह गर्न प्रोत्साहन गर्नुपर्ने भनाई

काठमाडौं – एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नागरिकता प्राप्ति सहज पार्न स्वदेशमै विवाह गर्न प्रोत्साहन गर्नुपर्ने बताएका छन्।


‘नागरिकता प्रमाणपत्र प्राप्तिलाई सहज तुल्याउन नेपालभित्रै विवाह गर्ने कार्यलाई प्राथमिकता दिऔँ, बाहिर जाने होइन, देशभित्रै विवाह गर्ने कुरालाई प्रोत्साहन दिऔँ, म यसैको पक्षमा छु।’

नागरिकता प्राप्तिको प्रावधानलाई कडा तुल्याउनुपर्ने आवश्यकतामा औंल्याउँदै महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालद्वारा आयोजित कार्यक्रममा उनले भने- ‘नागरिकताको सवालमा कडाई गर्नुपर्छ, विदेशी एउटालाई पनि नेपालको नागरिक बन्न दिने स्थिति बनाउनु हुँदैन।

‘नेपाली नागरिकता प्रमाणपत्र लिन चाहने विदेशीलाई हामीले स्वागत छ भनिरहने होइन, यहाँ (नेपालमा) धेरै कडा छ भन्ने पार्नुपर्दछ’, उनले भने। ज्वाइँको लागि कडाई गर्ने, बुहारीको निम्ति खुकुलो गर्ने यो त भएन भन्ने खालको महिलाबाट कुरा आएको छ, तर दुवैलाई नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि कडा गर्नेतर्फ जाऔँ, यसमा मेरो पूर्ण साथ रहने छ’- वरिष्ठ नेता नेपालले भने।

नागरिकताको बारेमा मधेसी सन्दर्भ होस् वा आमरूपमा नेपाली महिलाको अधिकारको सन्दर्भ होस् निसन्देह नागरिकताको सवालमा अंश र वंश दुवैमा महिलाको अधिकार सुनिश्चित हुनुपर्छ भन्दै उहाँले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुष वा महिलासँग विवाह गरेको कम्तीमा १५ वर्ष पुगेपछि मात्र नेपाली नागरिताको प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रावधान राख्न जरुरी रहेको बताएका थिए। रासस