राजधानी काठमाडौंको गोठाटारमा हिजो बोक्सीको आरोपमा दुई महिलामाथि आक्रमण गरी सख्त घाइते बनाएको विरोधमा आज महिलाहरुले दोषीलाई कार्वाहीको माग गर्दै काठमाडौंको बौद्ध प्रहरी चौकीमा धर्ना दिएका छन् ।
गोठाटारका महिला एकसाथ प्रहरी कार्यालयमा धर्ना दिन पुगेपछि केहिबेर तनाव सिर्जना भएको थियो । १५ सयभन्दा बढी महिला दोषीलाई कहा कारवाहीको माग गर्दै प्रहरी वृत्त घेर्न पुगेका हुन् ।
आफ्नै दिदीहरु सुनिता पुडासैनी र खोमकुमारी दाहाललाई उनकै भाई दिलिप, बहिनी तारा र ज्वाई ज्ञानेन्द्रले माइतमा बोलाई बोक्सीको आरोपमा आँखा फोडी दिएका थिए । सुनिताको दुबै आँखा फोडिएको छ भने खोमकुमारीको कान काटिएको छ । घटनामा संलग्नमा तीन जनालाई प्रहरीले पक्रेको छ ।
पक्राउ पर्नेमा खोमकुमारीका सहोदर भाई दिलिप, बहिनी तारा र ज्वाई ज्ञानेन्द्र छन् । तीनै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने प्रहरी वृत्त बौद्धका प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।