छ महिनासम्म बीचमा नछुटाइ औषधी खाइरहेमा निको हुने क्षयरोग निर्मुल पार्न संसारभर अभियान


 

नेपालमा हजारौं मानिसहरु क्षयरोगको प्रकोपमा परेपनि अझै कैयौं हजार मानिसहरु उपचारबाट बन्चित रहेको बताइएको छ।

छ महिनासम्म बीचमा नछुटाइ औषधी खाइरहेमा निको हुने यो रोग निर्मुल पार्ने अभियान संसारभर चलिरहेको छ।


तर नेपालको गरिबी, चेतनाको कमी र कमजोर स्वास्थ्य सेवा प्रणालीका कारण नियन्त्रण कठीन रहेको भन्दै विश्व क्षयरोग दिवसको सन्दर्भमा चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्।


गरिबको रोग भनेर पनि चिनिने क्षयरोगको प्रकोपमा खासगरी पोषण र चेतनाको कमी भएकै समुदाय पर्ने गरेका छन्।


विश्व स्वास्थ्य संगठन (WHO)का अनुसार विश्वभर करिब ८० लाख मानिसहरु टीबी रोगबाट ग्रस्त छन्।


नेपालमा पनि हजारौं मानिसहरु क्षयरोग ग्रस्त भएपनि यसको उपचारमा समस्या रहेको क्षयरोग विशेषज्ञ डा दीर्घ सिंह बमले बताए।


उनले भने, “समष्टीगत रुपमा विरामी उपचार गर्नै ढिलो आउँछन् र कतिले बीचैमा औषधी खाने छोडिदिन्छन्।”

 

मन्द ज्वरो आउने, रुची नहुने र तौल घटने मुख्य लक्षण हुने टीबी रोग चिकित्सकहरुका अनुसार नङ कपाल र दाँत बाहेक जहाँ पनि हुन सक्छ।

छ महिनासम्म लगातार नबिराइकन औषधी खानुपर्छ।


औषधी सरकारले निशुल्क उपलब्ध गराउने भएपनि स्वास्थ्य सेवा प्रणाली कमजोर हुँदासम्म क्षयरोग नियन्त्रण कठीन भएको बताउँछन् अर्का छातीरोग विशेषज्ञ डा अर्जुन कार्की।


उनी भन्छन्, “छ महिनासम्म औषधी खानैपर्छ तर विरामीहरु एक दुइ महिनाभित्रै स्वस्थ महशुस गरेर छोड्छन् त्यसो गर्दा किटाणु निख्रिसकेको हुन्न।”


टीबी रोग नियन्त्रणमा देखिएको अर्को समस्या हो रोगीलाई टीबीको औषधीले काम नगर्ने अवस्था।


खासगरी बीचैमा औषधी खान छोडनेहरुमा, एकपटक सन्चो भएर टीबी रोग बल्झिएकाहरुमा र टीबीका किटाणुको प्रकृतिमा आएको परिवर्तनले पनि निको नहुने टीबी रोगका केसहरु संसारभर बढ्दै गएको बताइन्छ।


बालबच्चालाई समयमै बीसीजी खोप लगाउने, पोषणयुक्त आहारमा ध्यान पुर्‍याउने र मुख्यत रोग लागेको शंका हुने वित्तिकै स्वास्थ्य उपचारमा लागेर निरन्तर औषधी खाने हो भने टीबी रोग संसारबाटै निर्मूल हुनसक्ने चिकित्सकहरुको विश्वास छ।