अफगानिस्तानमा अमेरिकी सेनाले मारेका १७ सर्वसाधरणको परिवारले क्षतिपूर्ति पाएका छन् । घटनामा मारिएकाको प्रति परिवारले ४६ हजार डलर र प्रत्येक घाईतेले १० हजार अमेरिकी डलर प्राप्त गरेको अफगान अधिकारी र आदिवासी नेताहरुले बताएका छन् ।
तर क्षतिपूर्ति कसले दियो भन्नेबारे केही खुल्न सकेको छैन् । बीबीसीले भने पीडित परिवारका सदस्य र अमेरिकी तथा नेटो सैन्य अधिकारीहरुबीच कान्दाहारका गभर्नरको कार्यालयमा भेटघाट भएको जनाएको छ ।
गत मार्च ११ मा अमेरिकी सेनाका हबल्दार रोबर्ट वेल्सले कान्दाहार प्रान्तको पान्जवाई जिल्लामा अन्धाधुन्ध गोली हानी १७ जनाको हत्या गरेका थिए । मारिनेमा ९ नौ बालबालिका रहेका थिए । गत हप्ता कुबेत हुँदै अमेरिका लगिएका ३८ वर्षिय हबल्दार वेल्सविरुद्ध अमेरिकी सैन्य अदालतमा मुद्दा चलिरहेको छ ।
घटनापछि अमेरिकी र अफगानी सेनाबीच तनाब बढेको छ भने तालिवानले अमेरिकासँगको वार्ताबाट पछि हटेको जनाइसकेको छ ।
यसैबीच कान्दाहारमा रोड छेउ गराइएको विष्फोटमा आठ अफगान प्रहरी अधिकृत र नेटोका एक सैन्य अधिकारी मारिएका छन् । ति सैनिकहरु पेट्रोलिंङमा निस्किएको अधिकारीहरुले जनाएका छन् ।