विश्वका नेताहरुद्धारा आणविक आतंकको बढ्दो चुनौति सामना गर्न नजिकबाट सहकार्य गर्न विश्व समूदायलाई आह्वान

सियोल आणविक सुरक्षा सम्मेलनमा उत्तर कोरियाको चर्को आलोचना


विश्वका नेताहरुले आणविक आतंकको बढ्दो चुनौति सामना गर्न नजिकबाट सहकार्य गर्न विश्व समूदायलाई आह्वान गरेका छन् । दक्षिण कोरियाको राजधानी सियोलमा जारी आणविक सुरक्षा सम्मेलनमा ६० भन्दा बढी मुलुकका राष्ट्र तथा सरकार प्रमुखले आणविक आतंकविरुद्ध सहकार्यको आह्वान गरेका हुन् ।

 

दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ वाकले आणविक आतंकवाद ठूलो चुनौति रहेको बताउनु भयो भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले आणविक आतंकवादविरुद्ध कारवाही मै जोड दिनु भयो । सम्मेलनमा सम्बोधन गर्दै ओबामाले अझै पनि धेरै खराब तत्वहरु रहेको र उनीहरुले खतरनाक आणविक भण्डारण र सामग्रीको प्रयोगलाई वढावा दिइरहेको अरोप लगाउनुभयो ।

चिनियाँ राष्ट्रपति हु जिन्ताओले आणविक आतंकविरुद्ध सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । यस्तै जापानका प्रधानमन्त्री योशिहितो नोडाले उत्तर कोरियालाई रकेट प्रक्षेपण रोक्न आग्रह गर्नु भयो । दुई दिने सम्मेलनमा अहिले सम्म उत्तर कोरियाले अर्को महिना गर्न लागेको रकेट प्रक्षेपणको योजनाले नै अरु विषयलाई ओझेलमा पारेको बताइएको छ ।

 

यद्यपी इरानको परमाणु कार्यक्रम पनि सम्मेलनमा छलफलको विषय बनेको छ । सम्मेलनमा सहभागि नेताहरुले आतंकवादको चुनौति लगायत आणविक सामग्रीको सुरक्षा र सुविधाका साथै आणविक सामग्रीको चोरी रोक्ने सम्बन्धमा पनि व्यापक छलफल गरेका छन् । तर आफ्नै मुलुक भित्र आणविक सामग्री कसरी सुरक्षित राख्ने भन्ने विषयमा भने सहमति भएको छैन ।