एम्नेष्टी इन्टरनेशनलद्धारा सन् २०११ मा विश्वभर मृत्युदण्ड सजायको लहर चलेको भन्दै चिन्ता

सन् २०११ मा विश्वभर मृत्युदण्ड सजायको लहर चलेको


मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सन् २०११ मा विश्वभर मृत्युदण्ड सजायको लहर चलेको भन्दै चिन्ता जनाएको छ । विशेष गरी मध्यपूर्वका मुलुकहरुमा मृत्युदण्डको सजाय गत वर्ष भन्दा ५० प्रतिशतले बढेको एम्नेष्टीले जनाएको छ ।

 

 एम्नेष्टीले आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै मृत्युदण्डको सजाय बढ्नुमा इराक , इरान र साउदी अरब बढी जिम्मेवार देखिएको उल्लेख गरेको छ । तर विश्वभर अन्य देशले दिएको मृत्युदण्डको सजाय संख्या भन्दा चीन एक्लैले दिएको मृत्युदण्डको सजाय संख्या बढी रहेको प्रतिवेदनमा छ ।

चीनमा मृत्युदण्डको सजाय एक हजार नाघेको एम्नेष्टीको अनुमान छ । मृत्युदण्डको सजाय दिने मुलुकहरुको सूचीमा पांँचौ स्थानमा रहेको अमेरिकामा गत वर्ष ४३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको भन्दै एम्नेष्टीले यसलाई लज्जास्पद भनेको छ ।

 

सन् २०११ मा विश्वका २० मुलुकमा गरी ६ सय ७६ जनालाई मृत्युदण्डको सजाय दिइएको छ । सन् २०१० मा भने यो संख्या २३ मुलुकमा ५ सय २७ थियो । विश्वमा हाल २० मुलुकमा मात्र मृत्युदण्डको सजाय सम्बन्धि ब्यवस्था छ ।