सिरियाली अधिकारीहरुद्धारा सरकार विरोधी प्रदर्शनका क्रममा जानीजानी योजनाबद्ध ढंगबाट बालबालिकालाई निशाना

सिरियामा बालबालिकालाई निशाना बनाइएकोमा राष्ट्रसंघको आपत्ति


संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख नेभी पिल्लेले सिरियाली अधिकारीहरुले सरकार विरोधी प्रदर्शनका क्रममा जानीजानी योजनाबद्ध ढंगबाट बालबालिकालाई निशाना बनाइरहेको बताउनु भएको छ । 

 

पिल्लेले पक्राउ परेका सयौं बालबालिकाको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो । पिल्लेले सिरियाली राष्ट्रपति बशार अल असादको एउटा आदेशले मात्रै बालबालिका पक्राउ गर्ने र सर्वसाधारण मारिने क्रम रोकिने बताउनु भयो ।

 

उहाँले सिरियाली नेताले उनका सुरक्षाकर्मीले गरेको बर्बरताविरुद्ध कानूनी कठघराको सामना गर्नुपर्ने उल्लेख गर्नुभयो ।

यता हिजो मात्र सिरिया सरकारले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ६ बुंदे शान्ति प्रस्ताव स्वीकारेको जनाएको थियो । अन्नान संयुक्त राष्ट्रसंघ र अरब लीगका तर्फबाट सिरियाका लागि विशेष दूत हुनुहुन्छ । तर अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भने असादको व्यवहारले मात्रै शान्ति प्रस्ताव कार्यान्वयनको मूल्यांकन गरिने बताउनुभएको छ ।

 

अन्नानको प्रस्तावमा राष्ट्रसंघको अनुगमनमा सिरियाको हिंसा अन्त्य गर्न आग्रह गरिएको छ । सिरियामा एक वर्ष यता राष्ट्रपति असादको शासनविरुद्ध भएको प्रदर्शनमा ९ हजार मानिस मारिएको राष्ट्रसंघले जनाएको छ ।