पहिरन मात्र होइन, अनुहार पनि दुरुस्तै, उचाइ, रूपरंग एउटै भएका तिम्ल्याहा एसएलसी परीक्षार्थी

– जानु पंगेनी

 

स्याङ्जा – पहिरन मात्र होइन, अनुहार पनि दुरुस्तै । उचाइ, रूपरंग एउटै भएका तिम्ल्याहा परीक्षार्थी देख्दा यहाँको कोल्मा बराहचौर उच्च मावि केन्द्रमा अरू परीक्षार्थी मात्र होइन, निरीक्षक पनि झुक्किन्छन् । ‘अहो कस्तो तीनैजना एउटै, कुन को हो ? छुट्याउनै नसकिने ?,’ देख्नेहरू छक्क पर्दै आश्चर्य मान्छन् ।

ओरस्टे-२, सेराका १५ वर्षीय संगम पोख्रेल, सन्दीप र सरगम यतिखेर सबैको आर्कषणका पात्र बनेका छन् । उनीहरू स्थानीय दिव्यप्रकाश उच्च माविका प्राचार्य टुकनारायण पोख्रेलका तिम्ल्याहा सन्तान हुन् । पहिलो सन्तान छोरी पाएकी उनकी आमा तेजमायाले दोस्रोपटक तिम्ल्याहा जन्माएकी थिइन् । आमा तेजमाया पनि स्थानीय नवज्योति प्राविमा शिक्षिका हुन् ।

दिव्यप्रकाश उच्च माविका उनीहरूको प्रवेशिका केन्द्र कोल्मा बराहचौर उच्च माविमा परेको हो । उनीहरू रूपरंगले मात्र उस्तै होइनन्, पढाइमा पनि उस्तै उस्तै छन् । एसएलसी टेस्टमा संगम दोस्रो, सन्दीप तेस्रो र सरगम चौथो भएका थिए । सुरुदेखि नै प्रायः यही स्थान आउने गर्छन् । ‘कहिलेकाहीं तेस्रो, चौथो र पाँचौंसमेत भएका छौं,’ संगमले भने, ‘तर हाम्रो स्थान जहिले पनि लगातार हुने गर्छ ।’

तीनमध्ये जेठा संगम र माइला सरगमको कमर्स पढ्ने इच्छा छ । कान्छा सन्दीपको राम्राे अंक आएमा इन्जिनियरिङ पढ्ने धोको छ । तर उनले दुई दाजुसँग छुट्टनिुपर्ने पिरले निर्णय लिन सकेका छैनन् । उनीहरूको सिम्बोल नम्बर लगातार पर्ने हुँदा परीक्षामा पनि सँगै परेका छन् । तीनैजना निकै अनुशासित भएको केन्द्राध्यक्ष बलराम दोरङगाले बताए । ‘एकापसरमा सिकाउने गरेको देखिएकै छैन,’ उनले भने ।

उनीहरू स्कुलमा, घरमा जतिबेला पनि सँगै हुन्छन् । ‘यिनीहरू बेस्सरी झगडा गरेको अहिलेसम्म्ा थाहा छैन,’ आमा तेजमायाले भनिन्, ‘कपडा किन्दा पनि उस्तै कपडा रोज्छन् ।’

तिम्ल्याहा जन्मेदेखि उनीहरू सबैको आकर्षणका पात्र बनेको परिवारजन बताउँछन् । ‘तिम्ल्याहा भएकामा छिमेकी पनि हेर्न आउँछन्,’ बुबा टुकनारायण पोख्रेलले भने, ‘सबैले उनीहरूलाई रुचिका साथ हेरेको देख्दा गर्व महसुस हुन्छ, सबै अचम्म पर्छन् ।’