सिरियाको हिंसा अन्त्य गर्ने सम्बन्धी बग्दादमा अरब लीगको छलफल, होम्स् शहरमा भने सुरक्षाकर्मीद्धारा बमबारी

सिरियाको हिंसा अन्त्य गर्ने बग्दादमा अरब लीगको छलफल


 


सिरियाको हिंसा अन्त्य गर्ने सम्बन्धी शान्ति योजनाको विषयमा इराकको राजधानी बग्दादमा अरब लीगको छलफल चलिरहेको बेला होम्स् शहरमा भने सुरक्षाकर्मीले बमबारी गरेका छन् । शहरमा जारी बमवारी र हिंसाका कारण त्यहाँबाट हजारौ मानिस पलायन भएका छन् । सरकारी सेनाले कलात अल मादिकस्थित विद्रोही गढमा आक्रमण गरेको विपक्षीले जनाएका छन् । आक्रमणमा ४० भन्दा बढी मारिएका छन् ।


यसैबीच, संयुक्त राष्ट्रसंघ र अरब लीगले सिरियालाई शान्ति योजना स्वीकार्न फेरि आग्रह गरेका छन् । सिरियाले भने अरब लीगको कदमलाई कुनै महत्व नदिने जनाएको छ । राष्ट्रपति असादले दमन कायमै राखेको भन्दै अरब लीगले सिरियालाई गत वर्ष आफ्नो सदस्यबाट निलम्बन गरिसकेको छ । यसअघि सिरियाले राष्ट्रसंघ र अरब लीगका विशेष दूत राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको छ बुँदे शान्ति प्रस्ताव स्वीकारेको जनाएको थियो ।


सिरियामा एक वर्ष यता असादको शासनविरुद्ध भएको प्रदर्शनमा ९ हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने हिंसा रोक्ने अन्तर्राष्ट्रिय प्रयास पनि सफल हुन सकेका छैनन् ।