पोखरामा बस दुर्घटनापछि उत्पन्न तनावको समाचार संकलन गर्न पुगेका पत्रकारलाई निर्घात कुटपिट

– प्रेम नेपाली

 

पोखरा  – नदीपुरमा बस दुर्घटनापछि उत्पन्न तनावको समाचार संकलन गर्न पुगेका गण्डकी मिडिया हाउसका पत्रकार विभाष भूजेललाई प्रहरीले निर्घात कुटपिट गरेको छ ।

घटनास्थलमा भएको झडपको तस्बिर लिँदै गरेका भूजेललाई प्रहरीले पत्रकारको परिचय दिँदा दिँदै कुटपिट गरेको थियो । लात्ती र लाठिद्वारा ढाड र खुट्टामा हानेर घाइते बनाइएका उनको स्थानीय गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘तैं होइनस् हाम्रो फोटो खिच्ने भन्दै कुटपिट गरे’ घाइते भूजेलले भने, ‘पत्रकारको परिचयपत्र देखाउँदासमेत अझ बढ्ता बोल्छस्, खबरदार भोलि समाचार नलेख्लास् भन्दै झन् पिटे ।’

पाँच जना प्रहरीले उनको क्यामरा खोसेर खिचेको फोटो समेत डिलिट गरिएका थिए । घटनाको नेपाल पत्रकार महासंघ कास्कीले भर्त्सना गर्दै कुटपिटमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेको छ ।

पोखराको बगरबाट महेन्द्रपुलतर्फ आउँदै गरेको माइक्रोबसको ठक्करबाट नदीपुरमा साइकलमा सवार १८ वर्षीय तुलबहादुर घर्तीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले बसमा तोडफोड गर्दै दोषिमाथि कारबाहीको माग राखेका थिए । रोल्पाको फगाम घर भई पोखरामा बस्दै आएका उनको मृत्युपछि विरोधमा उत्रिएका स्थानीयबासीले सडक जाम गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।

पृथ्वीनारायण क्याम्पसदेखि करिब एक किलोमिटर दक्षिणमा भएको दुर्घटनापछि विद्यार्थी पनि प्रदर्शनमा उत्रिएका थिए । प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियुका सचिवालय सदस्य सुरज थापा र नेविसंघका क्षेत्रीय सचिव गोविन्द नेपाली घाइते बनेका छन् ।

यसैगरी कास्कीको हेम्जामा एम्वुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार पर्वत फलेवास घर भई पोखरा १ बगरमा बस्दै आएका २६ वर्षीय सन्तोष कुवरको मृत्युलाई लिएर स्थानीयबासीले गरेको प्रदर्शनका कारण साँझसम्म घटनास्थलमा तनाव उत्पन्न भएको थियो ।