कोलम्बियामा फार्क विद्रोहीद्धारा कब्जामा रहेका १० प्रहरी र सेनालाई मुक्त

दक्षिण अमेरिकी देश कोलम्बियामा फार्क विद्रोहीको कब्जामा रहेका १० प्रहरी र सेनालाई मुक्त गराइएको छ । कम्युनिष्ट विद्रोही फार्कले दशकदेखि बन्धक बनाएका ती प्रहरी र सेनालाई अन्तर्राष्ट्रिय रेडक्रसको मध्यस्थतामा मुक्त गराइएको हो ।

 

कोलम्बियाको घना जंगलबाट ब्राजिलियन आर्मी हेलिकोप्टरमार्फत् खोजी गरी सबै बन्धकलाई सुरक्षित स्थानतर्फ लगिएको समाचार संस्थाहरुले जनाएका छन् । कोलम्बियाली राष्ट्रपतिले जुअन मानुएल सान्तोसले बन्धक मुक्तिको स्वागत गरेपनि यसैले मात्र फार्कको असली चेहरा नदेखिने टिप्पणी गर्नुभयो ।

 

फार्कको कब्जामा रहेका सयौं नागरिकलाई मुक्त नगरिएसम्म उसलाई विश्वास गर्न नसकिने राष्ट्रपति सान्तोसले बताउनुभयो । सन् १९६० देखि शक्ति हत्याउनका लागि फार्क संघर्षरत छ ।

 

तर केही दशक यता उसले गम्भीर क्षति पनि ब्यहोर्दै आइरहेको छ । पछिल्ला वर्षहरुमा सरकारले पक्रेका आफ्ना गुरिल्ला मुक्त गराउन उसले सरकारी सेना र प्रहरी एवं सर्वसाधारणलाई बन्धक बनाउँदै आएको छ ।