अमेरिकाले औपचारिक रुपमा सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणको योजना रचेको आरोपमा पांच अलकायदा लडाकु विरुद्ध मुद्धा चलाउने निर्णय गरेको छ । यी पांच व्यक्तिहरुमा सेप्टेम्बर ११ मा गराइएको आक्रमणको मुख्य योजनाकार खालिद शेख मोहम्मद पनि रहेका छन् । खालिद सन् २००३ मा पाकिस्तानमा पक्राउ परेका थिए । उनीहरु विरुद्ध आतंकवाद ,विमान अपहरण , षड्यन्त्र , हत्या र सम्पत्तिको क्षति पु-याएको जस्ता आरोप लगाइएको छ ।
मुद्धाको सुनुवाई एक सैनिक आयोगमा हुने बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयले ग्वान्तेनामो वे मा राखिएका उनीहरु दोषी प्रमाणित भए मृत्युदण्डको सजाय समेत हुन सक्ने जनाएको छ ।
सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कको ट्वीन टावर ,वासिंटन, शान्स्कभेली र पेन्सेल्भेनियामा गराइएको आक्रमणमा २ हजार ९ सय ७६ जना मानिस मारिएका थिए ।