संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सिरियामा हिंसा अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि सरकारी फौजले प्रदर्शनकारी विरुद्ध सैन्य कारवाही जारी राखेकोमा निन्दा गर्नु भएको छ । महासचिव बानले अप्रिल १० सम्म युद्धविराम गर्ने समयसीमा राष्ट्रपति बशार अल असादका सेनालाई विरोधी मार्न दिने समय नभएको स्पष्ट पार्नु भयो । अधिकारकर्मीहरुले सिरियामा पछिल्लो दुई दिन यता मात्रै सैन्य कारवाहीमा सय जना मारिएको जनाएपछि बानले यस्तो प्रतिक्रिया दिनु भएको हो । यता सिरियाबाट पलायन हुने शरणार्थीको संख्या बढ्न थालेपछि टर्कीले राष्ट्रसंघको सहयोग चाहिन सक्ने जनाएको छ ।
राष्ट्रसंघका महासचिव बानसंगको कुराकानी पछि टर्कीका विदेशमन्त्री अहमेत डाभुटोग्लुले राष्ट्रसंघ र अरब लीगको शान्ति योजनामा राष्ट्रपति असादले सहमति जनाए पनि जारी हिंसाका कारण टर्की पुग्ने शरणार्थीको संख्या झन दोब्बर भएको बताउनु भयो । उहांले सिरियाबाट टर्कीमा पलायन हुने शरणार्थीको संख्या २४ हजार पुगेको जानकारी दिनु भयो । छ बुंदे शान्ति योजनामा सिरियामा अप्रिल १० सम्म सबैपक्षबाट हिंसा रोक्ने र १२ अप्रिलबाट युद्धविराम लागु गर्ने उल्लेख छ । अहिले राष्ट्रसंघको एक टोली राष्ट्रसंघीय अनुगमनकर्ताहरु सम्भावित युद्धविरामको अनुगमनको लागि दमस्कसमा छलफलमा जुटिरहेका छन् ।