सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लीगका तर्फबाट विशेष दूत राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले दमस्कसबाट आफ्नो युद्धविराम योजनाको सम्मान गर्ने प्रतिबद्धता पाएको बताउनु भएको छ । तेहेरानमा इरानका विदेशमन्त्रीसंगको भेटपछि बोल्दै अन्नानले सबै पक्ष सकारात्मक भए सिरियामा भोलि सम्म अबस्थामा सुधार आउने आशा व्यक्त गर्नु भयो । उहांले राष्ट्रपति बशार अल असादको सरकारबाट युद्धको स्थिति रोक्ने र ६ बुंदे शान्ति योजनालाई सम्मान गर्ने सम्बन्धमा थप स्पष्टता पाएको उल्लेख गर्नु भयो । अन्नानले विपक्षीहरुले हिंसा अन्त्य गर्ने प्रतिबद्धता दमस्कसले खोजेको पनि बताउनु भयो ।
तर उनीहरुले सरकारी प्रस्ताव यसअघि नै अस्वीकार गरिसकेका छन् । सिरियाका जनघनत्व बढी भएका विभिन्न क्षेत्रबाट सरकारी सेना र हतियार फिर्ता गर्नु पर्ने समयसीमा भोलि सम्म रहेको छ । तर हिंसा रोकिने कुनै लक्षण देखिएको छैन् । हिजो मात्र होम्स् लगायतका शहरमा सरकारी सेनाले गरेको कारवाहीमा सय भन्दा बढी मानिस मारिएको अधिकारर्कीहरुले दाबी गरेका छन् । छ बुँदे शान्ति योजनामा सिरियामा १२ अप्रिलबाट पूर्ण युद्धविराम लागु गर्ने उल्लेख छ । राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मध्यस्थतामा तयार पारिएको शान्ति सम्झौताका लागि राष्ट्रपति बशार अल असाद सहमत भएका थिए ।
सिरियामा एक वर्ष यता राष्ट्रपति असादको शासन विरुद्धको प्रदर्शनमा ९ हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।