सिरियामा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको प्रस्ताव अनुरुप युद्धविराम शुरु

सिरियामा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको प्रस्ताव अनुरुप युद्धविराम शुरु भएको छ । अन्नानले संयुक्त राष्ट्रसंघ र अरब लीगका तर्फबाट तयार पार्नु भएको प्रस्ताव सिरियाली सरकार र विद्रोहीले स्वीकार गरी युद्धविराम लागु भएको हो । सिरिया सरकारले आफु युद्धविराम प्रति प्रतिबद्ध रहेको तर आक्रमण भए त्यसको जवाफ दिने अधिकार आफुसंग सुरक्षित रहेको जनाएको छ । विपक्षी हतियारधारी समुहहरुले पनि सरकारले आक्रमण गरे त्यसको प्रत्याक्रमण गर्ने बताएका छन् । तर पश्चिमा मुलुकहरुले भने सिरिया सरकार युद्धविराममा अडिक रहनेमा शंका व्यक्त गरेका छन् ।


यता विद्रोही संगठन फ्रि सिरियन आर्मीका प्रवक्ताले युद्धविराम लागु हुन नसक्ने जनाएका छन् । हिजो मात्र अन्नानले राष्ट्रपति बशार अल असाद सरकारबाट युद्ध रोक्न र ६ बुंदे शान्ति योजनालाई सम्मान गर्ने प्रतिवद्धता पाएको उल्लेख गर्नुभएको थियो । छ बुँदे शान्ति योजनामा सिरियामा १२ अप्रिलबाट पूर्ण युद्धविराम हुनुपर्ने उल्लेख छ । राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मध्यस्थतामा तयार पारिएको शान्ति सम्झौताका लागि राष्ट्रपति असाद सहमत भएका थिए ।


सिरियामा एक वर्ष यता राष्ट्रपति असादको शासनविरुद्धको प्रदर्शनमा ९ हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने ९५ हजार मानिस छिमेकी मुलुकहरु टर्की र लेवनान पलायन भैसकेका छन् ।