सिरियामा संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरुको पहिलो टोली राजधानी दमस्कसमा

संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरु सिरियामा


सिरियामा संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरुको पहिलो टोली राजधानी दमस्कस पुगेको छ । टोलीले आफ्नो काम शुरु गर्नु अघि सिरियाली सरकार र विपक्षीसंग छलफल गर्नेछ ।

 

यसै साताभित्र सिरियामा युद्धविराम अनुगमनका लागि राष्ट्रसंघका अनुगमनकर्ताको संख्या ३० पु-याइने राष्ट्रसंघले जनाएको छ ।

 

यता सिरियामा युद्धविराम शुरु भएपनि हिंसाका घटनामा भने कमी आएको छैन् । हिजो मात्र होम्स् शहरमा २५ जना मारिएको अधिकारकर्मीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघ र अरब लीगका विशेष दूत कोफी अन्नानको प्रस्ताव अनुरुप विहिवारबाट युद्धविराम शुरु भएको हो ।

छ बुंदे शान्ति प्रस्तावमा सिरिया सरकारले अप्रिल १० बाट आफ्ना सेना र हतियार फिर्ता गर्नुपर्ने लगायतका विषय समेटिएका छन् । यसैबीच राष्ट्रसंघका महासचिव बान किन मुनले सिरियामा युद्धविराम दिगो हुन सक्ने नसक्नेबारे नजिकबाट नियालिरहेको बताउनु भएको छ ।

 

यता सिरियाली सरकारले भने युद्धविराम शुरु भएपनि आतंककारी समुहले आपराधिक आक्रमण गरिरहेको दाबी गरेको छ । सिरियामा एक वर्ष यता राष्ट्रपति बशार अल असादको शासन विरुद्धको प्रदर्शनमा ९ हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने ९५ हजार मानिस छिमेकी मुलुक टर्की र लेवनान पलायन भैसकेका छन् ।