अष्ट्रेलियाले अफगानिस्तानमा कार्यरत आफ्ना सेना निर्धारित समय अगावै फिर्ता गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री जुलिया गिलार्डले सन् २०१३ को अन्त सम्म अष्ट्रेलियाली सेना अफगानिस्तानबाट फिर्ता गर्ने घोषणा गर्नुभयो । उहांले उरुग्जान प्रान्तको सुरक्षाको जिम्मेवारी अफगान सेनालाई सुम्पिए पछि अष्ट्रेलियाली सेना फिर्ता हुने बताउनु भयो ।
गत आइतवार काबुलमा तालिवान लडाकुले गरेको भिषण आक्रमणको दुई दिन पछि र अमेरिकामा अफगानिस्तानको विषयमा नेटोको महत्वपूर्ण बैठक बस्न लागिरहेका बेला अष्ट्रेलियाली प्रधानमन्त्रीले यस्तो निर्णय सार्वजनिक गर्नु भएको हो ।
अष्ट्रेलियामा सन् २०१३ मा आमचुनाव हुंदैछ । अफगानिस्तानमा अहिले ५० मुलुकका १ लाख ३० हजार सेना तैनाथ छन् । जसमा अष्ट्रेलियाका १५ सय ५० सैनिक छन् । सन् २००१ यता अफगानिस्तानमा अष्ट्रेलियाका ३२ सेना मारिइसकेका छन् ।
सन् २०१४ को अन्त सम्म अफगानिस्तानमा तैनाथ नेटो गठबन्धनका सेना स्वदेश फर्कने बताइएको छ । नेटोका सेनाले अफगानिस्तानको सुरक्षा अफगान सुरक्षाकर्मीलाई सुम्पने प्रक्रिया शुरु गरिसकेका छन् ।