कांग्रेसद्धारा प्रतिनिधिसभा सांसद् संख्या घटाउन आग्रह गर्ने

काठमाडौ  –  कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बुधबार बसेको बैठकले प्रतिनिधिसभाका सदस्य धेरै नबनाउन र राजनीतिक स्थिरता कायम हुनेगरी शासकीय स्वरुप अवलम्बन गर्नुपर्ने निर्णयमा पुगेको छ ।

बैठकमा सभापति सुशील कोइरालाले राजनीतिक दलहरूको बीचमा भइरहेको छलफलका बारेमा जानकारी गराएका थिए । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको उक्त दलको बैठकले राजनीतिक दलहरू बीचमा प्रतिनिधिसभा सदस्यको सङ्ख्या ३२५ बनाउने भन्ने अनौपचारिक सहमतिलाई पुनरावलोकनका लागि अन्य राजनीतिक दलहरूसँग आग्रह गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

सभापति कोइरालाले संविधान निर्माणका क्रममा देखिएका विवादहरू संवैधानिक समितिले थपेको दुई दिने म्यादभित्र नै हल हुने धारणा राखेको केसीले बताए ।

बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सभासद्ले संसदीय प्रणालीबाट कांग्रेस अलग हुन नहुने विषयमा जोड दिएका थिए । – रासस