अंग्रेजी भाषा तथा साहित्यमा विश्वकै उत्कृष्ट अंक हासिल

काठमाडौ  –  क्याम्बि्रज युनिभर्सिटीअन्तर्गत सञ्चालित ए लेभलमा नेपालबाट तीन विद्यार्थीले विश्वकै उत्कृष्ट अंक हासिल गरेका छन् । अंग्रेजी भाषा तथा साहित्यमा रातो बंगला स्कुलका अपूर्व लाल, जेनेरल पेपरमा जेम्स इन्स्िटच्युटका समीप बराल र रातो बंगलाकै शशांक शर्माले उत्कृष्ट अंक हासिल गरेका हुन् ।

त्यसैगरी नेपालबाट विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीलाई बुधबार अवार्ड तथा प्रमाणपत्र प्रदान गरियो । नेपालमा ३४ वटा विद्यालयले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गत जून र नोभेम्बरमा सञ्चालित परीक्षामा सबैभन्दा बढी चेल्सी इन्टरनेसनल एकेडेमीका दस, रातो बंगलाका आठ र किङ्क कलेजका आठ विद्यार्थीले उत्कृष्ट अवार्ड हासिल गरेका छन् ।

क्याम्बि्रज विश्वविद्यालय र बि्रटिस काउन्सिलद्वारा आयोजित समारोहबीच ती विद्यार्थीलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र वितरण गर्दै शिक्षामन्त्री दीनानाथ शर्माले नेपालको शिक्षा नीति परिवर्तनको संघारमा रहेको बताए ।

‘आजका विद्यार्थी राष्ट्रको भरोसा हुन्,’ शिक्षामा अन्तर्राष्ट्रिय साझेदारी निकायको तारिफ गर्दै मन्त्री शर्माले भने, ‘नेपालको शिक्षा प्रणाली विश्वस्तरीय बनाउने तर्खरमा छौं । अब बन्ने नीतिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका निम्ति सहज बन्नेछ ।’

त्यसैगरी नेपालस्थित बेलायती दूतावासका उपप्रमुख गोय ह्यारिसन र काउन्सिका कन्ट्री डिरेक्टर डा. रोबर्ट मन्रोले क्याम्बि्रज युनिभर्सिटीको कार्यक्रमबाट नेपाली विद्यार्थी लाभान्वित भएप्रति खुसी व्यक्त गरेका थिए ।

नेपालमा साढे दुई दशकदेखि ए लेभलको पढाइ सुरु भएको हो । एसएलसीपछि यो पढ्न पाउँछन् । त्यसैगरी विभिन्न संस्थाका एघार शिक्षकलाईसमेत उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो । –कान्तिपुर