काठमाडौ – एमाले सभासद्हरुले नयाँ संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख हुनुपर्ने मागसहित त्यसका लागि दबाब दिन हस्ताक्षर अभियानलाई तीव्र पारेको छ ।
मिश्रित प्रणालीअन्तर्गत प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा संसदबाट निर्वाचित प्रधानमन्त्री दुवैलाई अधिकार बाँड्ने गरी दुवैलाई कार्यकारी अधिकार दिने गरी अगाडि बढ्न मिल्छ भन्ने शीर्ष नेताहरूबाट आइरहेको विचारले समस्या सुल्झाउनुको सट्टा बल्झाउने चेतावनी पनि उनीहरुले दिएका छन् ।
एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको पक्षमा रहे पनि दुवैलाई कार्यकारी हैसियत प्रदान गर्ने मिश्रित प्रणालीभन्दा बरु माओवादी र कांग्रेसबाट पार्टीगतरुपमा ल्याइएको प्रस्तावमा सहमति कायम गर्न सकिने पनि उनीहरूले बताएका छन् ।
कांग्रेसले संसदबाट निर्वाचित प्रधानमन्त्री र संवैधानिक तथा माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अवधारणा अघि सार्दै आइरहेका छन् ।
सभासद्ले एमालेको शुक्रबार दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटीको बैठकअघि पार्टी अध्यक्ष झलनाथ खनाललाई हस्ताक्षर बुझाउने बताएका छन् ।
हालसम्म ५० जनाभन्दा बढी सभासद्ले हस्ताक्षर गरिसकेका छन् ।
रासस