दक्षिण अफ्रिकामा लोकतान्त्रिक चुनाव भएको १८ औं बर्षगांठको अवसरमा १४ हजार कैदीलाई कैद मिनाह

दक्षिण अफ्रिकामा लोकतान्त्रिक चुनाव भएको १८ औं बर्षगांठको अवसरमा १४ हजार कैदीलाई कैद मिनाह गरिएको छ । सन् १९९४ मा दक्षिण अफ्रिकामा पहिलोपटक लोकतन्त्रिक चुनाव भएको थियो, जसमा नेल्सन मण्डेलाको एएनसीले जीत हासिल गरेको थियो ।

 

आममाफी पाउने कैदीहरु मध्ये हत्या, आतंकबाद, बाल यौन शोषण र लागू औषध तस्करहरु परेका छैनन् । यसबाहेक पुर्पक्षका लागि कारागारभित्र रहेका २० हजार कैदीहरुले सुनुवाई नहुन्जेल कारागारमा रहनुपर्ने छैन ।

 

दक्षिण अफ्रिकाका कारागारमा क्षमताभन्दा बढी बन्दी रहेका कारण पनि यति धेरैको संख्यामा कैदीको माफी मिनाह गर्न लागेको हो । यसैबीच दक्षिण अफ्रिकामा लोकतन्त्रको चुनाव भएको १८ बर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा हजारौं जनताले सहभागिता जनाएका थिए । नाचगानसहित उपस्थित सर्वसाधारणले सरकारको कामकारवाहीको प्रशंसा समेत गरेका थिए ।