अचानक अफगानिस्तान पुग्नुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामाद्धारा अफगानिस्तानमा जारी युद्ध छिट्टै समाप्त हुने दाबी

अफगानिस्तानमा जारी युद्धको छिट्टै अन्त्य हुने :अमेरिकी राष्ट्रपति


अचानक अफगानिस्तान पुग्नुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा जारी युद्ध छिट्टै समाप्त हुने वताउनु भएको छ । अफगानिस्तानमा रहेका अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै ओबामाले आतंकबादी सञ्जाल अलाकायदाको हार निश्चित भएको दाबी गर्नुभयो ।

 

तीन बर्षयता अलकायदाको नेतृत्व ध्वस्त भएको र कम्तीमा ३० जना नेता अमेरिकी कारबाहीमा मारिएको ओबामाको जिकिर थियो । ओसामा बिन लादेन मारिएको एक बर्षपछि ओबामा अफगानिस्तान पुग्नु भएको हो । भ्रमणक्रममा ओबामा र अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईबीच सन् २०१४ मा अफगानिस्तानमा नेटोको अभियान समाप्त भएपनि अर्को दश बर्षसम्म सैन्य सम्बन्ध यथावत राख्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामा अफगानिस्तानमै रहेको बेला काबुलमा भएको बिस्फोटमा सात जना मारिएका छन् । काबुलमा रहेका बिदेशीलाई लक्षित गरी गराइएको बिस्फोटमा १७ जना घाइते भएका छन् । घाइते हुनेमा स्कुले बिद्यार्थी पनि छन् ।

 

बिस्फोट लगत्तै काबुलमा केहि ब्यक्तिले ग्रिनेड आक्रमण गर्नुका साथै सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । गोलाबारीमा भएको हताहतिबारे भने विवरण प्राप्त भएको छैन । अफगानिस्तानमा गत महिना यता मात्रै गराइएका बिस्फोटमा दुई सय भन्दा बढीको मृत्यु भइसकेको छ ।