आर्थिक समस्याको सामना गरिरहेका यूरोजोनका राष्ट्रहरूमा बेरोजगारी दर अहिलेसम्मकै सबैभन्दा बढी

ब्रसेल्स। आर्थिक समस्याको सामना गरिरहेका यूरोजोनका राष्ट्रहरूमा बेरोजगारी दर बढेको आँकडा हालै सार्वजनिक भएको जनाइएको छ ।


युरो जोनको बेरोजगारी दरको रेकर्ड अहिलेसम्मकै सबैभन्दा बढी स्तरमा पुगेको छ । त्यस्तै ती देशमा खर्चमा भएका विभिन्न कटौतीका कारण आम जनता कठिन अवस्थामा रहेका छन् ।


प्राप्त समाचार अनुसार युरोजोनको बेरोजगारीको दर दश दशमलव नौ प्रतिशत रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।


विभिन्न आँकडाअनुसार सन् १९९९ मा यूरोजोनको स्थापना भएयता बेरोजगारीको दर यो अहिलेसम्मको सबैभन्दा बढी भएको देखाइएकोे छ । युरो जोनमा १७ देश रहेका छन् ।


यसैगरी इटालीमा बेरोजगारीको दर नौ दशमलव आठ प्रतिशत छ जुन पछिल्लो १२ वर्षमा सबैभन्दा उच्च हो । आर्थिक मन्दीको समस्या इटालीले पनि नराम्रोसँग सामना गरिरहेको छ ।


त्यस्तै जर्मनीमा बेरोजगार मानिसहरूको सङ्ख्या करिब ३० लाख भएको त्यहाँका हालैका विभिन्न आर्थिक सर्वेक्षणहरूले देखाएका छन् ।


जर्मनीमा बेरोजगारीको दर नघट्ने बताइएको छ । सम्पूर्ण युरोपेली युनियनमा यदि बेलायत र डेनमार्कलाई समावेश गर्ने हो भने बेरोजगारी दर १० दशमलव दुई प्रतिशत हुनेछ ।


गतसाता मात्र स्पेनले त्यहाँ नोकरी माग्नेहरूको सङ्ख्या लगातार आठौँ महिनामा पनि बढेको बताएको थियो ।
अरू देशको तुलनामा युरोजोनको यो देशमा बेरोजगारीहरूको सङ्ख्या दु्रत गतिमा बढेको देखाइएको छ ।


स्पनेमा बेरोजगारी दर २४ दशमलव चार प्रतिशत रहेको छ । युरोपेली युनियनमा सबैभन्दा धेरै बेरोजगार मानिस स्पेनमा छन् ।


स्पेन र इटाली दुवै मन्दीको चपेटामा परेका छन् र दुवै मुलुकले बेलआउट ऋण लिनुपर्ने हुनसक्ने बताइएको छ ।
युरोपमा राजनेताहरूले आर्थिक मितव्ययी बजेट एवम् अन्य विकास कार्यक्रमहरूमा पनि लक्षित कार्यक्रमको चुस्तताका बारेमा विभिन्न ढङ्गबाट मापन गरिरहेका छन् ।


उनीहरूले आर्थिक विकास र खर्च कम गर्ने कार्यबीच सामञ्जस्य कायम गरे वा गरेनन् भन्ने बहस बारेमा पनि विभिन्न देशमा अलग अलग रुपमा बहस चलिरहेको छ ।


युरोपमा सबैभन्दा धेरै बेरोजगारी दर स्पेन, ग्रिस र साइप्रसमा रहेको छ । युरोपेली युनियनको पूर्वी क्षेत्रमा रहेका लिथुआनिया, लाटभिया र इस्टोनियामा भने बेरोजगारी दर सबैभन्दा कम रहेको छ । एएफपी