चिनियाँ सरकारका विद्रोही चेन ग्वांङचेगलाई चीन छाड्न सहज होस् भनेर अमेरिकाले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिएको छ ।
यो व्यवस्थाबाट चेन चाँडै चीन छाडेर अमेरिका जानसक्ने विश्वास अमेरिकी विदेश विभागले जनाएको छ । अब उनकी श्रीमती र बच्चालाई पनि चेनले सँगै अमेरिका लैजान सक्नेछन् । चेनको इच्छा पनि परिवारसहित अमेरिका जाने रहेको छ । चिनियाँ अधिकारीको नजरबन्दमा रहेका चेन केही हप्ता पहिले कैदबाट भागेर बेइजिङस्थित अमेरिकी दूतावासमा शरण लिन पुगेको र सरकारले सुरक्षाको सुनिश्चितता गरेपछि बाहिर आएका थिए ।
अमेरिका जानका लागि आवश्यकपर्ने कागजात चीन सरकारले चाँडै नै चेनलाई उपलब्ध गराइदिने आशा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता भिक्टोरिया न्यूलैंडको छ । हालैका दिनमा बेइजिङमा अमेरिका र चीनबीच भएका उच्चस्तरीय वार्तामा पनि यो विषयले प्राथमिकता पाएको थियो ।
चेनको विदेशमा पढ्ने इच्छा भए अरु नागरिकसरहको प्रक्रियामार्फत् जानसक्ने चीनले पनि जनाएको छ । अहिले भने चेनको बेइजिङस्थित अस्पतालमा चिनियाँ सुरक्षाकर्मीको घेराभित्र रहेर उपचार भैरहेको बताइएको छ ।