मुख्य तीन दलको बैठकमा एमालेद्धारा वर्तमान सरकारमा नजाने पार्टी निर्णयबारे औपचारिक जानकारी

मुख्य तीन दलको बैठकमा एमालेले वर्तमान सरकारमा नजाने पार्टी निर्णयबारे औपचारिक जानकारी गराएको छ । संविधान लेखनका विवादित विषयमा सहमति खोज्न र नयाँ मन्त्रिपरिषदमा मन्त्रालयको भागवण्डाबारे छलफल गर्न आज बसेको तीन दलको बैठकमा माओवादी र कांग्रेसले ५ बुंदे सहमति अनुसार सरकारमा आउन एमालेलाई आग्रह गरेका थिए । एमालेले भने मन्त्रिमण्डल बिस्तारमा एमालेलाई बेवास्ता गरिएको र प्रधानमन्त्रीले पुरानै सरकार पुर्नगठनको कार्यशैली अपनाएकाले सहभागि नहुने जनाउ दिएको थियो ।

माओवादी र कांग्रेसले भने एमालेले चार दलबीचको ५ बुँदे सहमति उल्लंघन गरेको आरोप लगाएका छन् । उनीहरुले मधेशी मोर्चा समेत सरकारमा आएको अवस्थामा एमाले पनि सरकारमा आउनुपर्ने बताए ।

दलहरुबीच अहिलेको प्राथमिकता शान्ति प्रक्रिया र संविधान लेखन भएकाले सरकारको विषयलाई प्राथमिकतामा नराख्ने पनि सहमति भएको छ । तर, एमालेले भने प्रधानमन्त्री र माओवादीको स्वेच्छाचारी प्रबृत्तिको बिरोध गरेको जनाएको छ । बैठकमा सुदुरपश्चिमका जनताले अखण्ड सुदुर पश्चिमको माग राखेर ११ दिनदेखि बन्द गरिरहेको भन्दै प्रधानमन्त्रीले वार्तामा आउन सुदुरपश्चिमबासीलाई आग्रह गर्नुभएको थियो ।