प्रधानमन्त्रीले गल्ती स्वीकारेपछि एमाले फेरि सरकारमा जाने

प्रधानमन्त्रीले पाँच बूँदे सहमति उल्लंघन गरेको भन्दै तत्काल सरकारमा नजाने निर्णय गरेको नेकपा एमाले फेरि सरकारमा जाने संभावना तीव्र भएको छ । आज बसेको तीन दलको वैठकमा एमालेले आफ्नो गुनासो राखेलगत्तै प्रधानमन्त्री भट्टराइले आफ्नो गल्ती महसुश गर्दै त्यसलाई सच्याउने वचन दिएपछि एमाले सरकारमा जाने संभावना बढेको हो । प्रधानमन्त्रीको वचनपछि अहिले एमाले स्थायी समितिको वैठक पार्टी मुख्यालय बल्खुमा बसिरहेको छ भने वैठकले सरकारमा सहभागी हुने निर्णय गर्ने संभावना रहेको स्रोतहरुले बताएका छन् ।

 

पार्टी महासचिव ईश्वर पोखरेलको नेतृत्वमा एमाले सरकारमा जाने बताइएको छ । यसअघि आज विहान बसेको मुख्य तीन दलको बैठकमा एमालेले वर्तमान सरकारमा नजाने पार्टी निर्णय गर्नुको कारण जानकारी गराएको थियो । माओवादी र कांग्रेसले भने ५ बुंदे सहमति अनुसार सरकारमा आउन एमालेलाई आग्रह गरेका थिए ।

माओवादी र कांग्रेसले भने एमालेले चार दलबीचको ५ बुँदे सहमति उल्लंघन गरेको आरोप लगाएका थिए । उनीहरुले मधेशी मोर्चा समेत सरकारमा आएको अवस्थामा एमाले पनि सरकारमा आउनुपर्ने बताएका थिए ।

दलहरुबीच अहिलेको प्राथमिकता शान्ति प्रक्रिया र संविधान लेखन भएकाले सरकारको विषयलाई प्राथमिकतामा नराख्ने पनि सहमति भएको छ । तीन दलको बैठकमा सुदुरपश्चिमका जनताले अखण्ड सुदुर पश्चिमको माग राखेर ११ दिनदेखि गर्दै आएको बन्दलाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो भने सोही अनुसार प्रधानमन्त्री भट्टराइले आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।