लामो समयदेखि अखण्ड सुदूरपश्चिमको माग अघि सारेर सुरु भएको बन्दले जनजीवन कष्टकर, औषधिको हाहाकार

चित्रांग थापा/मोहन शाही

 

महेन्द्रनगर/डोटी – अखण्ड सुदूरपश्चिमको माग अघि सारेर सुरु भएको आन्दोलनको आज १२ औं दिनपनि यसक्षेत्रको बजार तथा यातायात बन्द रहेको छ । लामो समयदेखिको बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । बजारमा औषधि समेतको अभाव हुन थालेको छ । लामो बन्दले सुदूरपश्चिमका पहाडी तथा तराई जिल्लामा अत्यावश्यक औषधिको अभाव भएको छ । सरकारी अस्पताल, जनस्वास्थ्य कार्यालयसँगै साझा स्वास्थ्य बिक्री कक्ष र निजी मेडिकल स्टोरहरूमा औषधिको अभाव बढ्दै गएको हो ।

‘तत्काल बालबालिका तथा गर्भवती महिलालाई चाहिने खोपको भ्याक्सिन आपूर्ति नभए जेठ पहिलो साताको खोप कार्यक्रमसमेत प्रभावित हुने अवस्था उत्पन्न भएको छ,’ सोमबार महेन्द्रनगरमा एघार दिन लामो बन्दबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय भेलामा कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवदत्त भट्टले भने, ‘बन्दका कारण पछिल्लो पटक वैशाख १४ पछि स्वास्थ्य केन्द्रहरूमा औषधि आपूर्ति हुन सकेको छैन ।’ उनले औषधि अभावसँगै यातायात सञ्चालन हुन नसक्दा स्वास्थ्यकर्मीहरू पनि ग्रामीण भेगका स्वास्थ्य केन्द्रमा जान सकेका छैनन् ।

कञ्चनपुरको जनस्वास्थ्य कार्यालयलाई धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरबाट बन्दका कारण औषधि आपूर्ति हुन नसक्दा जिल्लाका स्वास्थ्य केन्द्रहरूमा औषधि अभाव भएको हो । ‘अहिलेसम्म जेनतेन चलिरहेको छ,’ वरिष्ठ जन स्वास्थ्य अधिकृत भट्टले भने, ‘अकस्मात औलो देखापर्‍यो भने रोकथाम गर्न औषधि छैन ।’

उनले क्षयरोग, कुष्ठरोग, औलो, एचआईभी/एडसलगायत बिरामीलाई नियमित रूपमा दिनुपर्ने औषधि पनि सकिएको जानकारी दिए । ‘अञ्चल अस्पताल र साझाको बिक्री कक्षमा समेत इन्सुलिन र उच्च रक्तचापको औषधिसमेत अभाव भएको छ,’ उनले भने, ‘बजारका मेडिकल स्टोरमा पनि त्यही अवस्था रहेको छ ।’

जनस्वास्थ्य जस्तो सार्वजनिक स्वास्थ्यसम्बन्धी कार्यालय पनि खोलेर काम गर्न नसकिएको अवस्था रहेको भट्टले जानकारी दिए । भेलामा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, एसपी दिलीप चौधरी, कांग्रेस, माओवादी र एमालेलगायत राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । भेलामा प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीले आन्दोलनरत पक्षलाई वार्तामा सहभागी हुन आह्वान गरेको जानकारी दिएका थिए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिलीप चौधरीले आन्दोलन गलत दिशातिर मोडिन सक्ने स्थिति आउन सक्ने आभास पाएको बताए । ‘दलहरूले परिस्थितिको मूल्यांकन गर्नुपर्छ,’ उनले भने, ‘सामाजिक सद्भाव बिग्रन नदिन आन्दोलनका कार्यक्रम र स्वरूपबारे समयमै सोच्नुपर्ने आवश्यक रहेको छ ।’

एघारौं दिन पनि ठप्प

अविभाज्य अखण्ड सुदूरपश्चिमको माग अघि सारेर सुरु भएको आन्दोलनको एघारौं दिन सोमबार पनि सुदूरपश्चिमका तराई जिल्ला कैलाली र कञ्चनपुर बन्द रह्यो । सोमबार पनि विभिन्न संघ/संगठनले महेन्द्रनगर बजार क्षेत्रसँगै कञ्चनपुरका ग्रामीण भेगमा पर्ने झलारी, गुलरिया, दैजी र वनसमितिमा जनप्रदर्शन गरे ।

सोमबारको पूर्वघोषित कार्यक्रमअनुसार माओवादीबाहेक राजनीतिक दल कांग्रेस, एमाले र नेकपा मालेका महिला, दलित र मजदुर संघ/संगठनहरूले प्रदर्शन गरी स्थानीय मदनचोकमा कोणसभा गरे ।

सोमबार सदरमुकाम केन्दि्रत जनप्रदर्शनमा सहभागी हुन कञ्चनपुरको झलारीको संयुक्त संघर्ष समिति तथा कृष्णपुर गुलरिया र वनसमितिसमेतबाट बस, ट्रयाक्टरमा आन्दोलनकारी महेन्द्रनगर बजार पुगेका थिए । करिब २ सय मोटरसाइकलमा झलारी र गुलरिया कलुवापुर र वनसमितिका युवा आन्दोलनकारीहरू नारा लगाउँदै सदरमुकाम पुगेका थिए ।

यसैबीच सुदूरपश्चिम जागरुण मञ्चले सोमबार पनि जिल्ला प्रशासन कार्यालयअगाडि रिले अनशन जारी राख्यो । उनीहरूले बिहान जनप्रदर्शन गरी साँझ मदनचोकमा कोणसभा गरे । पूर्वघोषित कार्यक्रमअनुसार मंगलबार थारू संयुक्त संघर्ष समितिले पहिचान सहितको आदिवासी जनजातिहरूका हकअधिकारका लागि कञ्चनपुरमा जनप्रदर्शन गर्ने भएको छ । ‘जनप्रदर्शनको मात्र कार्यक्रम रहेको छ, बन्द स्थगित गरिसकेका छौं,’ थारू नागरिक समाजका सल्लाहकार दलबहादुर डगौराले भने ।

डोटीमा अखण्ड सुदूरपश्चिमको माग राख्दै आएका बन्दकर्ताहरूले साङले जुलुस बनाएर सोमबार क्षेत्रीय कार्यालयहरू घेराउ गरेका छन् ।

सोमबार बन्दकर्ताहरूले प्रधानमन्त्री बाबुराम भट्टराईसँग वार्ता सँगसँगै आन्दोलन पनि जारी राख्ने संघर्ष समिति दिपायलका संयोजक लोकेन्द्र शाहीले बताए । सोमबार बृहत् जुलुस निकालिएको थियो । क्षेत्रीय कार्यालयहरू घेराउ गरेर आन्दोलनकारीहरूले दिनभर साङले जुलुसमै देउडा खेलेका थिए । दुई किलोमिटर लामो सडकमा आन्दोलनकारीहरूले घेरा हालेका थिए । घेरा हालेपछि केहीबेर प्रहरी र बन्दकर्ताबीच झडप हुने स्थिति सिर्जना भएको थियो ।

वार्ता टोली गठन भएकोमा स्वागत

महेन्द्रनगर -प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आन्दोलनरत पक्षबाट मंगलबार ११ बजेसम्म सरकारी वार्ता टोलीसँग वार्ता गर्न प्रतिनिधिको नाम माग गरेका छन् । केन्द्रमा मन्त्रीहरू रहेको उच्चस्तरीय वार्ता टोली गठन भएको छ । यहा ‘बाट समेत मंगलबार बिहानसम्म नाम दिन जानकारी गराउँछु,’ उनले भने ।

यसैबीच अखण्ड सुदूरपश्चिमको माग अघि सारी आन्दोलनरत सुदूरपश्चिमाञ्चल जागरण मञ्चले सोमबार एक विज्ञप्तिमार्फत सरकारले आन्दोलनरत पक्षसँग वार्ताका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको निर्णयको स्वागत गरेको छ । मञ्चका प्रवक्ता हेमबावु लेखकका अनुसार मञ्चका पदाधिकारीहरूको भेलाले उक्त निर्णय गरेको हो ।

मञ्चले रिले अनशन र प्रदर्शनका कार्यक्रम जारी राख्दै आमजनताले बेहोर्नुपरेको असहज अवस्थालाई मध्यनजर गरी मंगलबारदेखि आमहडताल स्थगित गर्ने निर्णय गरेको प्रवक्ता लेखकले बताए । मञ्चको विज्ञप्तिमा सरकारी वार्ता टोलीसँग हुने वार्ताबाट मञ्चका माग सम्बोधन नभए पुनः सशक्त ढंगले आन्दोलनका कार्यक्रम सुरु गर्ने उल्लेख छ ।

चार वर्षअघि बैतडीमा पुस्कर जोशी लक्खाभाइको संयोजकत्वमा अखण्ड सुदूरपश्चिमको नारासहित मञ्च गठन भएको हो । कञ्चनपुरमा मञ्चले अखण्ड सुदूरपश्चिमको माग गर्दै गत सोमबारदेखि जिल्ला प्रशासन कार्यालयको मूलगेटमा रिले अनशन र आमहडतालको कार्यक्रमको संयोजन गर्दै आएको थियो ।

कञ्चनपुरमा नागरिक समाजको अगुवाइमा माओवादीबाहेकका दलहरू र विभिन्न संघसंस्थाका प्रतिनिधि रहेको संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम सञ्चालन गरिँदै आएको छ । सदरमुकामबाहेक कञ्चनपुरको झलारी र गुलरियालगायत ग्रामीण बजारहरूमा पनि स्थानीयवासीले स्वस्फूर्त ढंगले संघर्ष समिति गठन भई आन्दोलन सञ्चालन गरिरहेका छन् ।