इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी दलसँग मिलेर संयुक्त सरकार बनाउनु भएको छ । प्रधानमन्त्री नेतान्याहुको यो आश्चर्यजनक कदमपछि इजरायलमा आगामी सेप्टेम्बरमा हुने भनिएको चुनाव कम्तीमा एक वर्षपछि धकेलिएको छ ।
धार्मीक कट्टरपन्थी इजरायलीहरुलाई सैन्य तालीम लिन बाध्य बनाउने वा छुट दिने भन्नेमा विवाद बढेपछि त्यहाँ राजनीतिक संकट चुलिएको थियो ।
विवाद बढ्दै गएपछि प्रधानमन्त्री नेतान्याहुले आगामी सेप्टेम्बरमा आम चुनाव गर्ने घोषणा गर्नुभएको थियो ।
तर प्रतिपक्षी कादिमा पार्टीका सर्वोच्च नेता शाउल मोफाज संयुक्त सरकार बनाउन राजी भएपछि जेरुसेलमको संकट टरेको हो । समाचार स्रोतहरुका अनुसार विपक्षी नेता मोफाजलाई सरकारमा उपप्रधानमन्त्री बनाईनेछ भने कानून निर्माण सम्बन्धि विवाद दुबै पक्षको सहमतिमा टुङ्गो लगाइनेछ ।
प्रधानमन्त्री नेतेन्याहुको यो कदमलाई क्यानाडा भ्रमणमा रहनुभएका इजरायली राष्ट्रपति सिमोन पेरेजले स्वागत गर्नुभएको छ ।