थप अनुगमनकर्ता पठाउन सुरक्षा परिषदलाई आग्रह ।
सिरीयाका लागि संयुक्त राष्ट्रसंघ तथा अरव लिगका विशेष दुत कोफी अन्नानले सिरीयामा जारी युद्धविराम त्यहाँको संभावित गृहयुद्ध रोक्ने अन्तिम विकल्प भएको बताउनुभएको छ ।
यद्धविरामको अवस्थामा पनि सिरीयामा हिंसा जारी रहेको सन्दर्भमा राष्ट्रसंघ सुरक्षा परिषदको वन्द सत्रमा बोल्दै अन्नानले सिरीयामा जारी यद्धविराम अनुगमनको लागि राष्ट्रसंघले खटाएको मिशन त्यहाँको शान्ती स्थापनाको लागि एकमात्र विकल्प भएको जिकीर गर्नुभएको हो ।
सो क्रममा अन्नानले युद्धविराम पछिपनि सिरियामा हिंसा अन्त्य नभएको बताँउदै सरकारी सेनाले अत्यधिक हतियारको प्रयोग भने घटाएको दावी गर्नुभयो । दुवै पक्षले पछिल्ला दिनहरुमा थोरै हतियार प्रयोग गरेपनि मानव अधिकार उल्लंघनका घटना अहिलेपनि असैह्य भएको अन्नानको ठम्याई छ ।
सिरीयामा मानवीय सहायताको लागि थप २ करोड ७० लाख अमेरीकी डलर चाहिने तथ्यांक अन्तराष्ट्रिय रेडक्रशले दिएलगत्तै सिरीयाबारे राष्ट्रसंघ सुरक्षा परिषदमा वहस भएको हो । अन्तराष्ट्रिय रेडक्रश सिरीयामा हिंसा सुरु भएयता मुलुकभित्र मानवीय सहायता प्रदान गर्दै आएको एकमात्र संस्था हो ।