जातीय राज्यको बिरोधमा गरेको बन्द फिर्ता

काठमाडौ  – जातीय राज्यको बिरोधमा आन्दोलनरत् ब्राम्हण, क्षेत्री, ठकुरी,दशनामी समाजसहितको संयुक्त संघर्ष समिति गरेको बन्द शनिबारबाट फिर्ता लिएको छ । विभिन्न जातिको चाडपर्व परेकाले बन्द फिर्ता लिइएको समितिले जनाएको छ ।

यसअघि बैशाख २८ र २९ गते नेपाल बन्दको आयोजना गरेको उक्त समिति र सरकारबीच शुक्रबार भएको वार्ता सहमतिमा नपुगेपछि आन्दोलनकारीले थप एक दिन बन्द कार्यक्रम बढाएको थियो । दुई दिनको बन्दले मुलुकभरको जनजीवन प्रभावित भएको थियो । विभिन्न जनजातिहरुको चाड पर्व परेको र जातीय सदभाव विग्रिन सक्ने विषयलाई हेर्दै तत्काललाई बन्द फिर्ता लिएको समितिमा आवद्ध नेपाल दशनामी समाजका रविन्द्र गिरीले बताए । उनले साँझ सम्ममा आन्दोलनका थप कार्यक्रम ल्याइने बताए ।

आयोजकले बन्द फिर्ता लिएको जनाएपनि कार्यकर्ता सम्म आधिकारिक सूचना प्रवाहमा भएको ढिलाईका कारणतीनकुने कोटेश्वर लगायतका स्थानमा एक समूहले सवारी साधनमा अवरोध पुर्‍याएका छन् । क्रमशः सडकमा सवारी साधनको संख्या बढ्दै गएको छ ।

समितिका प्रवक्ता कुमार खड्काले राईहरुको महान पर्व साकेलालाई ध्यानमा राखेर बन्द स्थगन गरिएको बताएका छन् । ‘राईहरुको महान पर्वमा उहाँहरुलाई हाम्रो कारणले अप्ठ्यारो नहोस भनेर बन्द स्थगन गरेका हौं,’उनले भने-‘जातीय सदभाव खल्बलिन सक्ने तर्फ पनि सचेत भएर निर्णय लिएका छौं ।’  – कान्तिपुर