भारत सरकारको वायू सेवा कम्पनी एयर इण्डियाका पाइलटहरुको हड्ताल आज पाचौ दिन पनि जारी छ । हड्तालका कारण आज नयाँ दिल्ली र मुम्बईमा १६ वटा उडान रद्ध गरिएको छ ।
भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार बरिष्ठ पाइलटहरुले प्रधानमन्त्री डा.मनमोहन सिंहलाई चाँडो आफुहरुको मागको सुनुवाई गर्न आग्रह गरेका छन् ।
वरिष्ठ पाइलटहरुले प्रधानमन्त्री र एयर इण्डियाका प्रबन्ध निर्देशकलाई पत्र लेखेर पाइलटहरुको माग पुरा गर्न ध्यानाकर्षण गराएका हुन् । इण्डियन पाइलट्स गिल्डमा आवद्ध एयर इण्डियाका २ सय जना पाइलट मंगलबारदेखि हड्तालमा उत्रिएका हुन् ।
उनीहरुले कम्पनीले खरिद गरेको नयाँ ड्रीमलाइनर बिमान उडाउने प्रशिक्षणको पहिलो अधिकार आफुहरुलाई दिनुपर्ने र पदोन्नती हुनेपर्ने लगायतका माग राखेका छन् । एयर इण्डियाले हिजो मात्रै २५ जना पाइलटलाई बर्खास्त गरेपछि आन्दोलन झनै चर्किएको छ ।
यसैबीच, एयर इण्डियाले नागरिक बिमान महानिर्देशनालय समक्ष इण्डियन पाइलट्स गिल्डका ११ पदाधिकारीको लाइसेन्स रद्ध गरिदिन अनुरोध गरेको छ । एयर इण्डियाले ५० अन्तराष्ट्रिय र ४ सय आन्तरिक उडान संचालन गर्दै आएको छ ।