मुख्य दलहरुले सहमति गरेपनि आफ्ना मागहरुको स्पष्ट, ग्यारेन्टी नभएको भन्दै विभिन्न समूहद्धारा बन्दको श्रृंखला शुरु

मुख्य दलहरुले नयां संविधानका विषयमा सहमति गरेपनि नयां संविधानमा आफ्ना मागहरुको स्पष्ट सम्बोधन हुने ग्यारेन्टी नभएको भन्दै विभिन्न समूहहरुले बन्दको श्रृंखला शुरु गरेका छन् । ब्राम्हण, क्षेत्री, दशनामी, ठकुरी, दलित, पिछडा बर्ग लगायतले सरकारले आफ्ना मागको सुनुवाई नगरेको भन्दै भोलिदेखि अनिश्चितकालीन आमहडतालको घोषणा गरेका छन् ।

 

राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति बनाएका उनीहरुले सरकारले मागको सुनुवाई नगरेको भन्दै आम हडताल घोषणा गरेका हुन ।

यसअघि लगातार दुई दिने नेपाल बन्द गरेको उनीहरुले जेठ ३ गतेसम्ममा माग पुरा गराउन सरकारलाई अल्टिमेटम दिएका थिए । उनीहरुले चार दलबीच भएको ११ प्रदेशको सहमतिप्रति पनि शंका ब्यक्त गरेका छन् ।

 

संविधानमा आफ्ना मागहरु सम्बोधन गराउन दबाब दिने क्रममै राप्रपा नेपालले यही जेठ ५ गतेका लागि बन्द आह्वान गरिसकेको छ भने आदिवासी जनजातिहरुले जेठ ७, ८ र ९ गते तथा मुश्लिम समुदायले पनि ७ र ८ गते नै बन्द आह्वान गरेका छन् । RSS