काठमाडौ । वीरगन्जस्थित भारतीय महाबाणिज्य दूतावासका कन्सुलर एस्.डी. मेहताले अस्ति बुधबार विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुलाई रात्रीभोजमा आमन्त्रण गरी मधेशमा आन्दोलनको आँधी बेहरी ल्याउन गरेको आव्हान नेपालको आन्तरिक मामिलामा खुला हस्तक्षेप रहेको चार दलका शीर्ष नेताले ठहर गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बिजयकुमार गच्छदारले आज संयुक्त बिज्ञप्ति जारी गरि भारतबाट खुला हस्तक्षेप भएको भन्दै निन्दा गरेका हुन ।
बिज्ञप्तिमा भनिएको छ मधेशलाई टुक्रा गर्दा आफ्नो कलेजोलाई टुक्रा गरेजस्तो अनुभूति भएको र मधेशी मोर्चा असफल भएको भन्ने जस्ता अत्यन्त उत्तेजक, कूटनीतिक मर्यादा विपरीत, नेपालको आन्तरिक मामिलामा खुला हस्तक्षेप गर्ने र नेपाली समाजलाई द्वन्द्वमा धकेल्ने किसिमका अभिव्यक्ति दिएको भन्ने समाचारप्रति हाम्रो गम्भीर रुपमा ध्यान आकषिर्त भएको छ ।
बिज्ञप्तिमा नेपाल संक्रमणको संवेदनशील चरणबाट अघि बढिरहेको अवस्थामा उक्त किसिमको अभिव्यक्ति दिने व्यक्तिलाई फिर्ता पठाउन तथा यस सम्बन्धमा भारतीय सरकारप्रति आपत्ति जनाउन नेपाल सरकारसंग जोडदार माग गरिएको छ ।
RSS