काठमाडौं – पत्रकारिता क्षेत्रका विभिन्न संस्थाले आजको नेपाल बन्दका क्रममा प्रेसमाथि भएको आक्रमणको विरोध गरेका छन्। पत्रकारको सुरक्षाका लागि नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाद्वारा आज माइतीघरमा आयोजित सद्भाव र्यालीका वक्ताहरुले आदिवासी जनजाति महासङ्घका कार्यकर्ताबाट पत्रकारहरुमाथि गरिएको हमलाको भर्त्सना गरे।
उनले घटनाबारे प्रधानमन्त्री बाबुराम भट्टराईले मौखिकरुपमा क्षतिपूर्ति दिने र घटना रोक्न पहल गर्ने आश्वासन दिनुभए पनि त्यसप्रति विश्वास गर्न सकिने आधार नभएको उल्लेख गरे।
क्रान्तिकारी पत्रकार सङ्घ नेपालका अध्यक्ष महेश्वर दाहालले सञ्चार क्षेत्रप्रति कुनै गुनासो भएमा सञ्चार उद्यमीसँग कुरा गर्न र श्रमजीवी पत्रकारलाई आक्रमण नगर्न आग्रह गरे।
उनले पत्रकारमाथिको आक्रमण गर्नेहरुले माफी नमागेसम्म उनीहरुका समाचार बहिष्कारको निर्णय हुनसक्ने पनि जानकारी दिए।
नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले राजा ज्ञानेन्द्रको कालमा पनि पत्रकारहरुले सडकमा उत्रेर सरकारको दमनको विरोधमा उत्रिएको भन्दै जनजातिले नियोजित रुपमा प्रेसमाथि हमला गरेको बताए।
प्रेस चौतारी नेपालका अध्यक्ष गगन विष्टले पत्रकार महासङ्घले सञ्चालन गर्ने अभियानमा ऐक्यबद्धता जनाउने उल्लेख गर्दै पत्रकारमाथि हमला गर्नेका समाचार बहिष्कार हुनसक्ने चेतावनी दिए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठकले बन्दकर्ताले सामान्य बन्दको नियम पनि नाघेर प्रेसमाथि हमला गरेको बताए।
कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य मातृका पौडेल, दिलीप थापा मगर, पत्रकार सुरक्षा समूहका अध्यक्ष एलएस थापा, पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष गोविन्द चौलागाईलगायतले पत्रकारमाथिको हमलाको विरोध गरेका थिए।रासस