यमनमा ९६ जना मारिने गरी गराइएको विष्फोटको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले निन्दा र भत्र्सना गरेको छ । यो पूर्ण रुपको आतंकवादी क्रियाकलाप हो परिषदले भनेको छ ।
यमनी राष्ट्रपति अब्द्राबुह मन्सुर हादीले भने आतंकवादीविरुद्धको आक्रमण अझ बलियो र तीब्र पारिने दृढता व्यक्त गरेका छन् । अलकायदाको यमनी शाखाले आफ्नो एक जना सदस्यले उक्त विष्फोट गराएको भन्दै जिम्मेवारी स्वीकारेको छ । सैनिक पोसाक लगाएका आत्मघाती आक्रमणकारीले राष्ट्रपति भवननजिकैको अल सबिन चोकस्थित सैनिक शिविरमा विस्फोट गराउँदा २ सय २२ जना घाइते भएका छन् । सैनिकले परेड खेल्ने तयारी गरिहेका बेला उक्त व्यक्तिले सैनिक पोसाकमै गएर विस्फोट गराएका थिए ।
उक्त परेड उत्तर तथा दक्षिणी यमनको एकीकरणको २२ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिँदै थियो । कार्यक्रममा राष्ट्रपति पनि आउने कार्यक्रम थियो । गत फ्रेबुअरी महिनामा राष्ट्रपति बनेका हादीले देशमा अलकायदाविरुद्ध लड्ने संकल्प लिएका थिए । घटनाको विश्वभरबाट निन्दा गरिएको छ ।
अमेरिका र फ्रान्सका राष्ट्रपतिले विष्फोट बर्बरताको परिचायक भएको टिप्पणी गरेका छन् ।