युक्रेनको संसदमा बहस हुँदै गर्दा सांसदहरुबीच कुटाकुट
जेष्ठ १३ गते, २०६९ मा प्रकाशित
किभ (एजेन्सी)- रुसी भाषालाई देशको आधिकारिक भाषा बनाउने विधेयकसम्बन्धमा युक्रेनको संसदमा बहस हुँदै गर्दा सांसदहरुबीच कुटाकुट भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ।
बिहीबार साँझ भएको सो झडपमा एक सांसद टाँका लगाउनु पर्ने गरी घाइते भई अस्पतालमा भर्ना हुनुपरेको छ। हिंसात्मक झडपपछि सभामुख भोलोदिमिर लिट्भिनले विधेयकमा मतदान नै नगरी संसद स्थगित गर्नुपरेको थियो।
रुससमर्थक क्षेत्रका राजनीतिक पार्टीहरुको नेतृत्वमा राष्ट्रपति भिक्टर यानुकोभिचले यो विधेयक पास गराउन खोजेका थिए। तर जेलमा रहेका विपक्षी नेता युलिया टिमोसेन्कोले भने यस्तो विधेयकले युक्रेनलाई जारवादी र सोभियन नीतिलाई कायम राख्दै युक्रेनलाई झन् रुसी सांस्कृतिक उपनिवेशमा पार्ने बताएका थिए।
टिमोसेन्कोलाई गत अक्टोबरमा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा प्रधानमन्त्रीमा बहाल रहँदा सात वर्षको लागि जेल सजायँ सुनाइएको थियो।
युक्रेनी भाषा पहिलो भाषाका रुपमा देशका पश्चिमी र उत्तरी नगर र गाउँका जिल्लाहरुमा बोल्ने गरिन्छ। देशको पूर्वी र दक्षिणी भागमा र प्रमुख सहर र मिडियामा भने रुसी भाषाको व्यापक प्रयोग हुन्छ। तर पनि सबै कानुनी कागजात र माध्यमिक तहसम्मको स्कूले शिक्षा कानुनतः युक्रेनी भाषामा हुनुपर्छ।