सिरियामा सरकारी फौजले ९० जना नागरिकको नरसंहार गरेकोमा राष्ट्रसंघद्धारा निन्दा, अमेरिका र बेलायत क्रुद्ध

सिरियामा सरकारी फौजले ९० जना नागरिकको नरसंहार गरेकोमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मून र सिरियाका लागि राष्ट्रसंघका विशेष दूत कोफी अन्नानले निन्दा गर्नुभएको छ । दुबैले नरसंहारलाई अन्तर्राष्ट्रिय कानूनका उल्लंघनको संज्ञा पनि दिएका छन् ।

 

नागरिक हत्याको श्रृंखला तत्काल रोक्न पनि दुबै नेताले सिरिया सरकारसँग माग गर्नुभएको छ । अमेरिका र बेलायतले पनि नरसंहारको निन्दा गरेका छन् । बेलायतले यसबारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बोलाउन माग गरेको छ । शुक्रवार सरकारी फौजले घेराबन्दी गरी होम्स शहरमा ती नागरिकको हत्या गरेको हो । जसमा २५ जना त बालबालिका मारिएका थिए ।

यता, सिरियाली नागरिकले भने देशको स्थिति असाध्यै नाजुक भएको भन्दै जतिसक्यो चाँडै आवश्यक कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

 

शुक्रबार मध्य रातिदेखि लगातारको आक्रमणपछि सिरियाली राष्ट्रिय परिषद्ले सुरक्षा परिषद्लाई आवश्यक कदम चाल्न आग्रह गरेको हो । राष्ट्रसंघले छिट्टै आवश्यक कदम नचाले हजारौं नागरिकको हत्या हुने भन्दै परिषद्का प्रमुखले विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । सिरियाका आन्दोलनकारीले घेरा हालेर जनता मार्ने सिरियाली राष्ट्रपति बसार अल असादको निवासमा हवाइ आक्रमण गरी सैनिक कारबाहीका लागि पनि आग्रह गरेका छन् ।