करिब अढाई दशकपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंह बर्माको भ्रमणमा

करिब अढाई दशकपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंह आज बर्माको भ्रमणमा जाँदैछन् । बर्मामा लोकतान्त्रिक सुधारपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो बर्मा भ्रमण हुनेछ । सिंहको तीन दिने बर्मा भ्रमण कैयौं दृष्टिले महत्वपूर्ण मानिएको छ । बर्मा भारको पूर्व हेर नीतिको महत्वपूर्ण अंग हो, जसअन्तर्गत भारत दक्षिण पूर्वी एसियामा आफ्नो प्रभाव बढाउन चाहन्छ । यसैमार्फत चीनसँग उसको प्रतिस्पर्धाको नमूनासमेत देखिन्छ ।


भ्रमणका क्रममा प्रधानमन्त्री सिंहले मणिपुरको राजधानी इम्फालबाट बर्माको मन्डले सहरसम्म बस सेवा सुरु गर्ने घोषणा गर्ने अपेक्षा गरिएको छ । बर्मामा भारतको चासो अर्थव्यवस्थामा मात्र सीमित छैन । भारत राजनीतिक र सामरिक दृष्टिबाट समेत प्रभाव विस्तार गर्न चाहन्छ । सन् १९९० को दशकमा भारत बर्मामा लोकतन्त्रको पक्षमा थियो र आङ सान सूकीको ठूलो समर्थक थियो ।

 

सन् १९८८ मा सत्ताधारी सेनाविरुद्ध मुद्दा चल्न थालेपछि कैयौं बर्मेली शरणार्थीका रुपमा भारत आएका थिए । बर्मा र आसपास क्षेत्रमा चीनको बढ्दो प्रभावलाई हेरेर भारतले पनि बर्मातर्फ सहयोगी हात बढाएको हो ।