संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सिरिया सरकारले होम्स् शहरमा गराएको नरसंहारमा उच्च क्षमताका हतियार प्रयोग गरेको जनाएको छ । घटनास्थलको निरीक्षणपछि संयुक्त राष्ट्र संघको सैन्य पर्यवेक्षक टोलीले उच्च क्षमताका हतियार र सैन्य टयाक प्रयोग गरी सर्वसाधारणको हत्या गरिएको जनाएको हो ।
सुरक्षा परिषदले उच्च क्षमताका हतियारलाई तत्काल ब्यारेकमा फिर्ता गर्न सिरीया सरकारलाई सुझाव दिएको छ । होम्स् शहरको हाउलामा गत शुक्रवार सरकारी बिरोधी प्रदर्शन दवाउन राष्ट्रपति बसार अल अशादको आदेशमा आमनरसंहार गरिएको थियो । उक्त घटनाको विश्व समूदायले निन्दा गरेको छ । सरकारी फौजबाट नरसंहारका क्रममा कम्तिमा ४० बालबालिका सहित १ सय ८ जना नागरिक मारिएका थिए भने ३ सय घाइते भएका छन् ।
अमेरिकी बिदेश मन्त्री हिलारी क्लिन्टनले सिरियाली राष्ट्रपति असादलाई हतियारको बलमा शासन गर्ने दम्भ त्याग्न सुझाव दिनुभएको छ । यस्तै बेलायती बिदेशमन्त्री विलियम् हेगले सिरियाबारे छलफल गर्न तत्काल सुरक्षा परिषद्को आपतकालिन बैठक बोलाउन माग गर्नु भएको छ ।
युरोपियन संघ, अरब लिग र फ्रान्स, जर्मनी लगायतका देशकले पनि घटनाको निन्दा गरेका छन् । यसअघि राष्ट्रसंघका महासचिव बान कि मून र सिरियाका लागि राष्ट्रसंघका विशेष दूत कोफी अन्नानले पनि घटनाको निन्दा गर्दै नागरिक हत्याको श्रृंखला तत्काल रोक्न सिरिया सरकारसँग माग गर्नुभएको थियो । Agencies