काठमाडौ – राष्ट्रसंघका महासचिव बान-कि मुनले नेपालमा नयाँ संविधान जारी नभइ संविधानसभा बिगठन भएकोमा चिन्ता व्यक्त गरेका छन् । महासचिव मुनका प्रवक्ताले मंगलबार जारी गरेको एक बिज्ञप्तीमा संविधानसभा बिगठनले नेपाली जनतामा छाएको निराशाप्रति सहानुभूति व्यक्त गरिएको छ । संविधानसभा बिगठनसँगै नेपाल संवैधानिक र राजनीतिक अनिश्चिततातर्फ प्रवेश गरेको भन्दै महासचिव मुनले वर्तमान चुनौतिबाट पार पाउन राजनीतिक दलहरुले सहमतिपूर्वक हिम्मत र विवेक देखाउनुपर्ने सुझाव दिएका छन् । ‘अविलम्ब बैधानिक प्रकृयाबाट संविधान निर्माणको कामलाई निरन्तरता दिनु जरुरी छ,’,बिज्ञप्तीमा उल्लेख छ ।
महासचिव मुनले बृहत शान्ती सम्झौताको भावनाअन्तर्गत रहेर स्थिरता र प्रकृयागत निरन्तरताका लागि राजनीतिक सहमतीमा जोड दिदैं सबै राजनीतिक दललाई अहिलेसम्मका उपलब्धीको रक्षा गर्न बिगतका प्रतिबद्धतालाई पुरा गर्न समेत आग्रह गरेका छन् ।
यसैबीच, चिनिया राजदूत याङ हाउलान र भारतीय राजदूत जयन्तप्रसादको मंगलबार बिहान प्रधानमन्त्री बाबुराम भट्टराईसँग भएको छुट्टाछुट्टै भेटवार्तामा नेपालमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रममा चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री भट्टराईले दुबै राजदूतलाई आउने दिनमा राजनीतिक सहमतिका साथ अघि बढ्ने र छिट्टै अहिलेको अन्यौल टुङ्गने विश्वास दिलाएका थिए । – Agencies