काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन दिनुभएको छ । आफ्नो निवास महाराजगन्जमा पुगेका कार्यकर्तालाई कोइरालाले पार्टीलाई जनताका माझ सशक्त बनाउन र पार्टीको आधिकारिक धारणा लैजान आग्रह गर्नुभयो ।
अब राष्ट्रिय सहमतिका आधारमा मुलुकमा कुनै पनि बेला निर्वाचन हुनसक्ने भएकोले उहाँले कार्यकर्तालाई जिल्ला फर्कन निर्देशन दिनुभएको हो । सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार छिटै गठन हुने आश्वासन पनि दिनुभयो ।
काङ्ग्रेसले हिजो आफ्नो केन्द्रीय समितिको बैठकबाट जनताको लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रविरुद्ध देशव्यापीरूपमा सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सभापति कोइरालाले कार्यकर्तालाई सोही निर्णयका आधारमा अगाडि बढ्न आग्रह गर्दै आगामी दिनमा जनताका पक्षमा पार्टीलाई अझै सशक्त बनाउनसमेत निर्देशन दिनुभयो । RSS