नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित सो कार्यक्रममा सचिव ज्ञवालीले भन्नुभयो “नेपालले सन् २०१३ र २०१४ का लागि जलवायु परिवर्तनसम्बन्धी महासन्धिअन्तर्गत अतिकम विकसित मुलुकको प्रतिनिधित्व एवम् वार्ताका लागि गठित समूहको संयोजन गर्नेछ।”
जर्मनीको बोनमा यही जेठ ११ गते सो समूहको बैठकले नेपाललाई संयोजन गर्ने जिम्मेवारी तोकेको थियो। बङ्गलादेशले उम्मेदवारी फिर्ता लिएपछि नेपाल सर्वसम्मतरुपमा समूहको संयोजकमा चयन भएको हो।
हाल सो समूहमा ४८ देश रहेका छन्। सो समूहले खासगरी जलवायु परिवर्तनबाट परेका समस्यालाई कम गर्न सामूहिकरुपमा नीति निर्माण गरी लागु गर्ने र जलवायु परिवर्तनमा विकसित मुलुकले पारेका असरका विरुद्ध सामूहिकरुपमा सौदाबाजी गर्नेछ।
सचिव ज्ञवालीले हालै सो समूहको बैठकमा नेपालका तर्फबाट भाग लिनुभएको थियो। सचिव ज्ञवालीले नेपालले सो समूहको संयोजन गर्न पाउनु अवसर र चुनौती दुवै रहेको बताए।
संयोजन कार्यलाई थप प्रभावकारी बनाउन वतावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष देशहरुको सम्मेलन, सहायक सम्मेलन, सहायक अङ्गहरु तथा तदर्थ समूहरुको औपचारिक तथा अनौपचारिक बैठकमा भाग लिनका लागि मुख्य वार्ता टोलीको चयन गरिसकेको जानकारी दिएको छ। रासस