राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य अवस्था गम्भीर

suryabdrकाठमाडौ – राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकहरुले उनको स्वास्थ्यमा सामान्य सुधार देखिएपनि उनी खतरा मुक्त भइनसकेको बताएका छन् । चिकित्सकले उनलाई हृदयघात भएको जनाएका छन् ।

शनिबार बिहान सानो गौचरणमा आफ्नो पार्टी कार्य सम्पादनको बैठकमा बोलिरहेका बेला थापा अचानक बेहोस भएपछि उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो । डा.भरत रावतले उनको अवस्था अहिले पनि ‘क्रिटिकल’ रहेको बताएका छन् । ‘मुटुको धडकन, रक्त चाप फिर्ता आएको छ, उहाँलाई भेन्टिलेटरमा राखिएको छ,’ डा. रावतले सञ्चारकर्मी माझ भने ‘उहाँ अहिले पनि श्वास लिने स्थितिमा हुनुहुन्न । उहाँ होसमा आउनु भएको छैन ।’ थापाको मुटुमा अस्थाई पेस मेकर जडान गरी भेन्टिलेटरमा राखिएको छ । २४ देखि ४८ घण्टासम्म सावधानीपूर्वक उनलाई आईसीयूमा निगरानीमा राखिने रावतले जनाए ।

‘आउँदाखेरी मुटुको धडकन र श्वाँस केही पनि थिएन,’उनले भने ‘अहिले ब्लडप्रेसर ९०/७० को रेन्जमा छ । अलि अलि रेस्पोन्स पनि देखिएको छ । यसलाई मेडिकल चमत्कार पनि भन्न सक्छौं । तर अहिले पनि उहाँलाई खतरा मुक्त भन्न सक्दैनौं ।’ अस्पताल ल्याउन अलिकति अरु ढिला भएको भए गाहृो हुनेथियो उनले भने । ८५ वर्षीय थापाको यसअघि पनि मुटुको वाईपास सर्जरी भइसकेको छ ।

थापाको स्वास्थ्य स्थिति बुझ्न विभिन्न दलका नेताहरु अस्पताल पुगेका छन् । – कान्तिपुर