विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी लोकतान्त्रिकका १० केन्द्रीय सदस्यद्धारा पार्टीबाट सामूहिक राजीनामा

अर्जुन सुवेदी, नागरिक

 

काठमाडौं – उपप्रधान मन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का १० केन्द्रीय सदस्यले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। यसरी राजीनामा दिनेमध्ये फोरम लोकतान्त्रिकले शरदसिंह भण्डारीलाई हटाएको साता नबित्दै स्पष्टीकरण सोधिएका ९ जना छन्।

 अर्का राजीनामा दिने केन्द्रीय सदस्य शिवजीप्रसाद सोनीलाई भने स्पष्टीकरण सोधिएको थिएन। उनीहरुले आज पत्रकार सम्मेलनमार्फत् यस्तो घोषणा गरेका हुन। पार्टी माओवादीको पुच्छर भएको र सत्तामा झुम्मिरहने रोग लागेकाले उक्त पार्टीमा बस्न नसकिएको केन्द्रीय सदस्य प्रमोद गुप्ताले बताए।


उनका अनुसार अब उपेन्द्र यादव नेतृत्वको बृहत् मधेसी मोर्चासँग मिलेर अघि बढ्ने सोच छ। अर्को पार्टी तत्काल गठन हुने या नहुने भन्नेबारे सोमबार शरदसिंह भण्डारीसहितको पत्रकार सम्मेलनमा निर्धारण गरिने जानकारी पनि उनले दिए।


पार्टी अध्यक्ष गच्छदारले स्पष्टीकरण सोधेका केन्द्रीय सदस्यमा रामनन्द मण्डल, प्रमोद गुप्ता, सेवकीदेवी दास, कौशलकुमार यादव, ओमप्रकाश यादव, अमृता अग्रहरि, अमिरुल्लाह अन्सारी र निलम बर्मा थिए।